• १३ साउन २०८१, आइतबार

सडक निर्माण सम्पन्न नहुँदा आवतजावत गर्नेलाई सास्ती

blog

पविता पौडेल 

नवलपरासी, साउन २६ गते । नारायणगढ–बुटवल पूर्ब–पश्चिम राजमार्ग अन्तर्गतको सडकखण्ड विस्तारको काम कछुवा गतिमा चलिरहेको छ । यसले सडक वरिपरिका बासिन्दालाई बढी सास्ती भएको छ । सो सडकखण्ड भएर आवतजावत गर्नेलाई पनि दुःख भएको छ । घाम लाग्दा धुलोको समस्या र पानी पर्दा हिलोको समस्याले स्थानीयहरु पीडित भएको बताएका छन् ।  

बुटवलबाट छुट्ने गाडीहरु वर्दघाट, नवलपरासी, नारायणगढ हुँदै काठमाडौंपुग्न लामो समय खाल्डाखुल्डी बाटो पार गर्नुपर्ने हुन्छ । खाल्डाखुल्डीले गाडी विग्रने र दुर्घटना हुनेक्रम बढेको गाडी व्यवसायीको गुनासो छ । पहिला एक घण्टामा  बुटवलबाट बर्दघाट पुगिन्थ्यो । बुटवलबाट नारायणगढ पुग्न दुई घण्टा लाग्थ्यो तर अहिले बाटोमा खाल्डाखुल्डीले समय डबल लाग्ने गरेको छ ।  नारायणगढ–बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने गरी चाईना स्टेट कर्पोरेशनले ठेक्का लिएर काम गरिरहेकोछ । तर निर्माण सम्पन्न गर्नुपर्ने मिति सकिन केही दिन मात्र बाँकी रहँदा २० प्रतिशत पनि काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासो छ । 

सडक निर्माणको काम चाँडो सम्पन्न गर्ने जनगुनासो बढ्दैगएपछि बर्दघाट नगरपालिकाले समस्या समाधानका लागि पहल थालेको छ। नगर प्रमुख सम्भुलाल श्रेष्ठले आफ्नै कार्यकक्षमा सडक आयोजना, ठेकेदार, एइिवि, कन्सल्ट्यान्ट लगायतको टोलीसँग छलफल गर्नुभयो । 

नगरपालिकामा भएको छलफलमा बजार क्षेत्रमा आवागमनमा असुविधा भएका प्रिकास्ट नालि हटाउने, पानी निकासका लागि ह्यूमपाईप लगाउने, खाल्डाखुल्डी पुर्ने र बर्षात रोकिनासाथ कालोपत्रे गर्ने सहमति भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

सडक विस्तारमा वर्षाका कारण काममा दिलाई भएको ठेकेदारहरुको भनाइ छ । २०७५ माघदेखि सडक निर्माणको काम शुरु भएपनि अहिलेसम्म २० प्रतिशत मात्र काम सकिएको छ । बुटवल नारायणगढ सडक योजना प्रमुख प्रदिप शक्यका अनुसार अहिले सम्म १३ वटा साना पुल, ३ वटा ठूला पुल, ८० वटा कलभर्ट, र १३ किलोमिटर नाली बनेको छ । बाटोको २५ किलोमिटरमा माटो भर्ने काम भएको उहाँले बताउनुभयो ।  

निर्माण कम्पनीले ठेक्का लिएको चार वर्ष करिब पुगेको छ । ठेकेदारले जति छिटो काम गर्छन् त्यती छिटो बाटो  बन्ने काम सकिन्छ योजना प्रमुख प्रदिप शक्यले बताउनुभयो ।  काममा ढिलाइ भएकाले छिटो काम सम्पन्न गर्न भनिएको प्रमुख शाक्यले बताउनुभयो ।