• ८ जेठ २०८१, मङ्गलबार

नेपालसामु सैन्य युद्धको खतरा बढेको छ : नेता गुरुङ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्धको खतरा बढेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

विश्व साम्राज्यवादले अहिले नेपालसहित पूर्वी मुलुकमा इण्डोप्यासिफिकको सम्झौता अघि सारेर सैन्य युद्ध मच्चाउन लागेको उहाँको भनाइ छ । नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको चर्चा गर्नुहुँदै नेपाललाई सैन्य अड्डा बनाउने खतरा बढेको आशंका व्यक्त गर्नुभयो । 

देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल आफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने उहाँले चेतावनी दिनुभयो । नेपालमा विदेशीहरुको सैन्य बेस क्याम्प बनेमा नेपालको राष्ट्रिय अस्मिता समाप्त हुने उहाँले बताउनुभयो । नेपालको हित र स्वाधिनताको मुद्दामा सबै नेपाली एक हुनुपर्ने उहाँले चर्चा गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘विश्व साम्रज्यवादले जुन प्रकारको युद्ध आतंक मच्चाउन खोजिरहेको छ, साउथ एशिया र इण्डो प्यासिफिक क्षेत्रमा पनि युद्ध आतंक मच्चाउन खोजिएको छ ।’ पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उहाँले चर्चा गर्नुभयो । 

सुगौलीसन्धीदेखि नेपालको राष्ट्रिय स्वाधिनता कुण्ठित हुँदैआएको उहाँको भनाइ छ । नेपालको खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको उहाँले बताउनुभयो । खुला सीमाना नियतवश राखिएको पनि उहाँको बुझाइ छ ।

उहाँले खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको बताउनु भयो । उहाँले खुला सीमानाले आप्रवासीको जनसंख्या बढेको पनि बताउनु भयो ।