• १३ साउन २०८१, आइतबार

सत्ता गठबन्धन कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला

blog

पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

सपना थामी 

काठमाडौं, साउन २३ गते । सत्ता गठबन्धनको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तोकिनु भएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटलगायतका सम्बन्धमा बैठकलाई थप व्यवस्थित बनाउन सोमबार दिउँसो बालुवाटारमा बसेको कार्यदलले सिटौलालाई संयोजक तोकेको हो । 

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “आज बैठक लामो समय रह्यो । सबैले आ–आफ्नो दृष्टिकोण राख्नुभएको छ । सकारात्मकरुपले आजलाई बैठक स्थगित भएको छ । कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई बैठकको संयोजन गर्ने जिम्मेवारी दिएका छौं ।”

उहाँले अर्को बैठक आउँदो २६ गते दिउँसो ४ बजे फेरि बसेर थप विषयमा छलफल अगाडि बढाइने जानकारी दिनुभयो । 

बैठकमा गठबन्धनको सिट बाँडफाँट सम्बन्धमा कार्यदलले प्रतिवेदन तयार गरेर शीर्षस्थ तहमा बुझाउने विषयमा छलफल केन्द्रित भएको छ ।

“तोकिएको समयभन्दा अगाडि नै बुझाउने भन्ने छ । आज चाहिँ सबैले दलगत धारणा विस्तृतरुपमा राख्नुभयो । गठबन्धनलाई कसरी प्रभावकारी बनाउने, चुनावपछि पनि गठबन्धन कसरी लिएर जानेलगायत अन्य विषयमा सकारात्मक छलफल भयो”, मन्त्री कार्कीले भन्नुभयो । 

गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी सहभागी हुने सम्बन्धमा पनि शीर्षस्थ तहमा छलफल चलिरहेको उहाँको भनाइ छ । 

गठबन्धनको ११ सदस्यीय कार्यदलमा कांग्रेसका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन कुमार थापा हुनुहुन्छ । 

नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट महासचिव वेदुराम भुषाल र प्रमेश हमाल, जनता समाजवादीबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा हुनुहुन्छ ।