• १३ साउन २०८१, आइतबार

राजनीतिज्ञ सर्वज्ञाता बन्ने प्रवृत्ति नै विकासको बाधक : महामन्त्री शर्मा

blog

लिला झापाली
बिर्तामोड, साउन २३ गते ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको  विकास हुन नसक्नुमा राजनीतिज्ञले  सर्वज्ञाता बन्ने प्रवृत्ति नै मुुख्य  बाधक भएको बताउनुभएको छ   ।

डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आयोजनामा चन्द्रगढीमा सम्पन्न मुलुकको समसामयिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले विकास आयोजनाको वास्तविकता नबुझी राजनीतिको नेतृत्व लिएका नेताहरूले सबैथोक बुझेको शैलीमा काम गर्दा विकास परियोजना अलपत्र परेको बताउनुभयो ।

शर्माले राजनीतिले विधि र प्रक्रिया निर्माण गरिदिने भन्दै दल वा सरकार फेरिएसँगै विधि र प्रक्रिया फेरिने प्रवृत्तिले गर्दा देशमा नीतिगत अस्थिरता र विदेशी हस्तक्षेप बढेको बताउनुभयो ।

शर्माले  देशको आफ्नो आम्दानीले मात्रै देशको विकासका लागि ठूला आयोजना सञ्चालन गर्न नसकिने भन्दै वैदेशिक सहयोग लिने क्रममा अमेरिकी आर्थिक सहयोग भित्रिएको बताउनुभयो ।

नेता शर्माले मान्छेको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेचेर देशको समृद्धि ल्याउन देशले एमसीसी स्वीकार गरेको बताउनुभयो । शर्माले अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष विपक्ष बनाउन चाहनेले  एमसीसीमाथि नकारात्मक प्रचार गरेको समेत आरोप लगाउनुभयो ।

कांग्रेसले भोटका लागि भन्दा भविष्यका निम्ति विकास परियोजना छनौट गरेको शर्माको भनाइ थियो । शर्माले फास्टट्रयाक र अरुण तेस्रो आयोजना जस्तै एमसीसी पनि वैदेशिक सहयोगकै क्रममा आएको भन्दै विद्युत विकासबाट नेपालले सहजै समृद्धि प्राप्त गर्ने शर्माले बताउनुभयो  ।

शर्माले पार्टीमा आन्तरिक चुनावका बेला गुट उपगुट देखिएको भए पनि आम निर्वाचनमा गुट उपगुटको प्रभाव नरहने समेत प्रस्ट पानुभयो ।

शर्माले देशको उन्नतिका लागि कम्तीमा १५ वर्षको योजना बनाएर अगाडि बढनुपर्ने भन्दै नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अधोगतिमा भएको भन्ने अनावश्यक हल्लाको पछि नलाग्न सबैसित अनुरोधसमेत गर्नुभयो ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले बढ्दो महँगी, भ्रष्टाचार, अस्थिर राजनीति जस्ता समस्याले नेपालमा दलप्रति वितृष्णा फैलिएको भन्दै दलहरुले यसवारेमा  समयमै जनभावनाको सम्बोधन  गर्न आवश्यक रहेको धारणा राख्नुभयो  ।