• १२ असार २०८१, बुधबार

हप्ता दिन नबित्दै मन्दिर भत्कियो

blog

१० लाख रुपियाँ लागतमा निर्माण भएको बजरङ्वलीको मन्दिर भत्किएको अवस्थामा । तस्विर : माला कर्ण

माला कर्ण

कल्याणपुर, साउन २१ गते । सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो । 

तिरहुत गाउँपालिका २ स्थित बडहरामा १० लाख रुपियाँको लागतमा निर्माण भएको बजरङ्गबलीको मन्दिर एक साता नबित्दै ढलेको हो । कमिसनको चक्करमा गुणस्तरहीन काम भएपछि निर्माण भएको मन्दिर ढलान भएको सात दिनमै भत्किएको छ ।

आर्थिक बर्ष २०७८–७९ मा बडहरामा रहेको अधुरो बजरङ्गबली मन्दिर निर्माण कार्यका लागि गाउँपालिकाले १० लाख रुपियाँ बजेट बिनियोजन गरेको थियो । योजना निर्माण उपभोक्ता समितिका सचिव बिशो यादवका अनुसार गाउँपालिकाको प्राविधिकले मन्दिर निर्माणका लागि तीन स्टेपको डिजाइन बनाएर दिएको थियो । 

सोही बमोजिम असार २९ गते मन्दिरको तेस्रो स्टेपको छत ढलान भएको थियो । छत ढलानको लागि जुन सेटरिङ्ग लगाएको थियो, सो सेटरिङ्गबालाले सेटरिङ्ग खोलेको कारण मन्दिरको छत भत्केका उहाँले जानकारी दिनुभयो । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले मन्दिर निर्माण कार्यमा के कस्तो गुणस्तर सामान प्रयोग भएको हो, सोबारे प्राविधिक इन्जिनियर दिनेश माझीलाई जानकारी हुनुपर्ने बताउनुभयो । मन्दिर भत्केको जानकारी पाएलगतै बैंकसँग सम्पर्क गरेर सबै भुक्तानी रोक्का गरिसकेको उहाँको भनाइ छ ।  

त्यस्तै, खडक नगरपालिका १ मा १० लाख लागतमा सोही डिजाइनमा बनाइएको शशिया महाराजको मन्दिर बनाएको एक साता नबित्दै भत्किएको हो । सब इन्जिनियर विश्वप्रकाश झाको डिजाइन र स्टिमेटमा बनाइको मन्दिरमा कमसल सामान प्रयोग गरिएको स्थानीय देवकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कमिसनको चक्करमा गुणस्तरहीन काम भएपछि निर्माण भएको मन्दिर ढलान भएको दुई चार दिनमै भत्किएको हो ।