लस एन्जेलस, साउन २० गते । मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो ।
उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो ।
अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो । सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखापरेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो ।
विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ ।अहिले पनि विश्वका कतिपय देशमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचार आइरहेका छन् । अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमितहरु पाइएकाे बताइएको छ । रासस/सिन्ह्वा