• ७ जेठ २०८१, सोमबार

पेसा परिवर्तन गर्दै व्यवसायी

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन २० गते । म्याग्दीको सदरमुकाम बेनीदेखि १२ किलोमिटर पश्चिममा पर्ने बेनी नगरपालिका–४, तातोपानीका ५९ वर्षीय छविलाल थापाले घडी, रेडियो तथा चार्जर लाइट मर्मतको पसल सञ्चालन गर्दै आउनुभएको छ। तर उहाँ कहिलेकाहीँ मात्रै पसल खोलेर केही सामग्री मर्मत गर्ने र पसल बन्द गरेर खेतबारीको कामतिरै फर्कनुहुन्छ। कसैले बोलाएको खण्डमा मात्र पसल खोल्ने अनि रेडियो, घडी, चार्जर लाइट मर्मत गर्नुहुन्छ। चार्जरलाइट मर्मत गर्न पोख्न थापालाई अब यो व्यापारप्रति त्यति आकर्षण छैन। उहाँ कसैले बोलाए पनि काम सकेर खेतबारीको काममा फर्किन हतारिनुहुन्छ। 

२०४६ सालमा तत्कालीन सिंगा गाउँविकास समिति–४, तातोपानीमा घडी रेडियो मर्मत तथा बिक्री केन्द्र सुरु गर्नुभएका थापाले भारतबाट मर्मतको तालिम लिएपछि व्यवसाय सुरु गर्नुभएको थियो। 

पहिले पहिले दैनिक १० भन्दा बढी घडी तथा रेडियो बिक्री गर्दै आउनुभएका थापाको पसलबाट पछिल्लो दुई महिना कुनै पनि घडी बिक्री भएको याद छैन। उहाँका एक छोराले केही समयसम्म पसलमा साथ दिए पनि अहिले पोर्चुगलमा पुगेर मोबाइल पसल सञ्चालन गर्नुभएको छ। छोराले मोबाइल मर्मत सिकेर केही समय पसल धानेको भए पनि पोर्चुगल पुगेपछि यहाँको पसल करिब बन्द भएको छ। 

त्यस्तै स्याङ्जाको पुतलीबजार घर भई २०५२ सालदेखि म्याग्दीको बेनीमा टाइम वाच सेन्टर सञ्चालन गर्दै आउनुभएका बिन्दुराज गुभाजूको पसलमा पनि लहरै मिलाएर राखेका घडीका चेन अनि सोकेसमा घडीहरू टमक्कै छन्। 

पहिल्यैदेखि गरेको पेसा भएकाले सामग्री सजाएर राखे पनि व्यापार नहुनुको पीडा उहाँभित्र उकुसमुकुस नै छ। दैनिक एउटा घडी पनि बिक्दैन– गुभाजु गुनासो पोख्नुहुन्छ। आधुनिक सूचना प्रविधिको विकाससँगै हातहातमा मोबाइल आएपछि घडी र रेडियोको व्यापार सुकेको हो। 

मोबाइलमा रेडियो अनि घडीले गर्दा घडीको व्यापार घटाएको उहाँको भनाइ छ। गुभाजू दाबी गर्नुहुन्छ, ‘बेनीमा घडी मर्मत गर्ने मान्छे अहिले म मात्रै हो तर पनि दिनमा मुस्किलले एक दुईवटा आउँछन्। कहिले त कोही पनि आउँदै आउँदैन।’ 

स्याङ्जा पुतलीबजारका अमिरदिन मियाले पनि २०५६ सालमा बेनी बजारको क्याम्पसचोकमा आएर न्यु सुपर वाच सेन्टर सुरु गर्नुभएको थियो। अहिले उहाँको पसल सुपर वाचभन्दा पनि सुपर मोबाइल अनि लाइट तथा मोबाइलमा प्रयोग हुने ब्लुतुथ स्पिकर, लिड बल्प र चार्जलाइटले भरिभराउ छ।

 उहाँको मूल ज्ञान घडी, रेडियो मर्मत नै हो। समयको परिवर्तनसँगै मोबाइल मर्मत सिकेर यसलाई व्यवसायका रूपमा सञ्चालन गर्दै आएको उहाँ बताउनुहुन्छ।  पुराना घडी–रेडियो व्यवसायी अमिर भन्नुहुन्छ– पछिल्लो समय जेन्स (पुरुष) होइन, लेडिज (महिला)ले घडी लगाउन थालेका छन्। फेसनमा आउने खालका केही मात्रै बिक्ने उहाँ बताउनुहुन्छ। 

सङ्गम घडी साज भनेर चिनिने कृष्णप्रसाद श्रेष्ठ अहिले घडीको पेसाबाट विस्थापित भइसक्नुभएको छ। उहाँ भन्नुहुन्छ– सायद त्यस्तै पुराना पाँच जनाभित्र पर्छु म पनि घडी रेडियो मर्मतमा। तर अहिले छोराले मोबाइल, टीभीको व्यवसाय गर्छन्। बेनी बजारको मूल क्षेत्र सङ्गम चोकका पुराना व्यवसायीले घडी रेडियो चटक्कै छाडेर मोबाइल तथा टेलिभिजनको व्यवसाय सुरु गरेको श्रेष्ठ बताउनुहुन्छ।

समयअनुसार चल्न सकेन भने पक्कै पनि लोप हुने वा हराएर जाने खतरा हुन्छ, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले भन्नुहुन्छ, कुनै समयको चर्चित नोकिया मोबाइल अहिले बजारमा पाउन मुस्किल छ। त्यसैले समयअनुसार परिवर्तन भएन भने घडी रोडियोको व्यवसाय पनि हराएरै जानुको विकल्प छैन। उहाँले समयको मागअनुसार पुरानो व्यवसाय हराउँदै गएको र नयाँ नयाँ व्यवसाय फस्टाउँदै गएको बताउनुभयो। अब पसल होइन, गोदाम, ग्राहक, मोबाइल भए पुग्छ।