• ७ जेठ २०८१, सोमबार

जुगेपानी पहिरोले यात्रुलाई सास्ती

blog

गोरखा समाचारदाता

गोरखा, साउन २० गते । गोरखा नगरपालिका–१, को कोखेआहाले नजिकै गएको जुगेपानी पहिराले सवारी आवागमन तथा आवातजावतमा समस्या भएको छ । बारम्बार खस्ने पहिरोका कारण घ्याम्पेसाल आरुघाट सडक विगत नौ दिनदेखि नियमित सुचारु हुन सकेको छ ।

‘यातायातका साधनहरूले पनि पहिरोका कारण सडक अवरुद्ध हुँदा कोखेआहाले पु-याएर छोडिदिने गरेको छ’ आरुघाटका स्थानीय सुमन गुरुङले भन्नुभयो, ‘उता पनि कटुसघारीपट्टि हिँडेर जान सक्ने अवस्था छैन ।’  गोरखा सदरमुकाम नजिकै भए पनि यतिका दिनसम्म सडक अवरुद्ध हुँदा पनि स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खुलाउन खासै चाँसो नदिएको उहाँको गुनासो छ । बिरामी, अशक्त तथा बूढाबूढीलाई वारिपारि गर्न गाह्रो भएको छ । 

उक्त पहिरोले गर्दा गोरखा नगरपालिका–१, भीमसेन थापा गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका सर्वसाधारणले बर्सेनि दुःख पाउँदै आएका छन् । 

उत्तरी गोरखासहित जिल्लाका विभिन्न ठाउँहरूलाई सदरमुकामसम्म जोड्ने प्रमुख सडक नै यही हो । ‘डोरीले तानेर भए पनि मुस्किलसँग केही गाडी पास गरिएको गोरखा नगरपालिका–२ का वडाध्यक्ष रहमतुल्ला मियाँले बताउनुभयो । झन्डै सय मिटर सडकमा निरन्तर पहिरो चलेपछि कालोपत्रे नगरी छोडिएको छ । लगातारको वर्षाले सडक भासिने र बग्ने समस्या उत्पन्न भएको हो । सडकको झन्डै आधा भागमा पहिरो गएको छ । 

सडक डिभिजन कार्यालय दमौदीका सबइन्जिनियर सञ्जीव श्रेष्ठले ‘जेसीभी लगाएर पहिरो सफा गर्ने काम सुरु गरिएको जानकारी दिनुभयो । तत्काल सडक मर्मत गरी सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।