• ४ जेठ २०८१, शुक्रबार

महिला र बालबालिका बेचविखनको उच्च जोखिममा

blog

मानव बेचविखनको प्रमुख नाका बन्दैगएको नेपालगञ्ज नाका । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन १८ गते । पश्चिम नेपालका तराई र पहाडी जिल्लाका महिला तथा बालबालिका बेचविखनको उच्च जोखिममा रहेका छन् । अशिक्षा, गरिबी र चेतनाको कमीले उहाँहरु जोखिममा पर्दैगएको बेचविखन नियन्त्रणमा सक्रिय संघ संस्थाले जनाएका छन् । 

गत लामो समयदेखि मानव बेचविखन रोकथाम र उद्धारको कार्यमा संलग्न माइती नेपालको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो ११ वर्षमा बेचविखनमा पर्नेको संख्या ह्वात्तै बढेको छ ।

आर्थिक वर्ष २०६७–६८ मा जोखिमपूर्ण यात्रामा रहेकाको पहिचान गरी यहाँस्थित जमुनाहा नाकाबाट २१४ जनाको उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७८–७९ सम्म पुग्दा यो संख्या बढेर ६२७ पुगेको सो संस्थाले जनाएको छ । 

आर्थिक वर्ष २०७८–७९ को तथ्यांक अनुसार जोखिमपूर्ण यात्रामा रहेको पाइएका ६२७ मध्ये ६२३ जना व्यक्तिलाई सिमानाबाट उद्धार गरी घर फर्काइएको थियो । बाँकी चार जनालाई माइती नेपालको सेल्टरमा राखिएको नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाले बताउनुभयो । 

सीमाबाट फर्काइएका अधिकांश व्यक्ति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका रहेका छन् । तीमध्ये सबैभन्दा बढी महिला र माध्यमिक तहको शिक्षा लिने उमेरका रहेको माइती नेपाल नेपालगञ्जले जनाएको छ । 

माइती नेपाल नेपालगञ्जका अनुसार आर्थिक वर्ष २०७८–७९ मा श्रम र यौन शोषणमा परेका ११ जनाको उद्धार गरिएको छ । बेचविखनमा परेका आशंकामा खोजतलास गरी पाउँ भनी ७०२ जना आफन्तको निवेदनमा २८५ जनालाई फेला पारेर उद्धार गरिएको संयोजक कोइरालाले बताउनुभयो ।  

महिला र बालकबालिका हराउनेक्रम नरोकिएको जनाउँदै अझै ४२७ जनाको अवस्था बेपत्ता सूचीमा रहेको उहाँले बताउनुभयो । बेचविखनमा परेकाको उद्धारका लागि सरकारले अझै कार्यविधि बनाउन नसकेको उहाँले जानकारी दिनुभयो ।