विजयकुमार साह
ढल्केबर, जेठ ४ गते । ट्रान्सफर्मर चोरीपछि अवरुद्ध धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको सिँचाइ आयोजना सञ्चालनमा आएको छ । विद्युत् प्राधिकरण सखुवा महेन्द्रनगर शाखाले नयाँ ट्रान्सफर्मर जडान गरिदिएपछि सो सिँचाइ आयोजना आठ महिनापछि सञ्चालनमा आएको हो ।
सिँचाइ आयोजनामा जडान गरिएको ५० केभिएको ट्रान्सफर्मर २०८० भदौ ५ गते राती चोरी भएको थियो । ट्रान्सफर्मर चोरीपछि स्थानीय किसान सिँचाइ सुविधाबाट वञ्चित भएका थिए । महारानी डिप ट्युबवेल जल उपभोक्ता समूहमार्फत सञ्चालित सो सिँचाइ आयोजनाबाट एक सयभन्दा बढी विघा जमिन सिँचाइ हुँदै आएको थियो ।
किसानको खेतबारीमा सहज सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजमा रहेको कृषि विकास आयोजनाले २०७४ सालमा सो सिँचाइ आयोजना निर्माण गरिदिएको थियो । सिँचाइका लागि तीन किलोमिटरमा भूमिगत पाइपलाइन विस्तार तथा ठाउँठाउँमा चेम्बर निर्माण गरिएको छ ।
स्थानीयले बटेश्वरका समाजसेवी राजकिशोर महतोको अथक प्रयासबाट सिँचाइ आयोजना नयाँ ट्रान्सफर्मर जडान सम्भव भएको बताउनुभयो । ट्रान्सफर्मर चोरीपछि नयाँ ट्रान्सफर व्यवस्थापन गरिदिनका लागि वडाध्यक्ष र पालिका प्रमुखलाई पटकपटक भनेपनि उहाँहरुले कुनै चासो नदेखाएपछि महतोले विभिन्न ठाउँमा भनसुन गरी जडान गर्न लगाएको स्थानीयको भनाइ छ ।
एक तथ्याङ्क अनुसार धनुषा र महतोरी जिल्लामा गरी एक वर्षको अवधिमा आठ वटा सिँचाइ आयोजनाको ट्रान्सफर्मर चोरी भएका छन् ।