• ८ जेठ २०८१, मङ्गलबार

खेताला चालकको भरमा अस्पतालको शव वाहन

blog

मुरारी अधिकारी

धादिङ, साउन १८ गते । जिल्ला अस्पताल धादिङमा शव वाहन छ तर चालक छैन । धेरैलाई त शव वाहन छ भन्ने थाहा छैन । थाहा हुनेले पनि आवश्यक पर्दा चालक अभावमा प्रयोग गर्न पाउँदैनन् । प्रयोग गर्नेले खेताला चालक व्यवस्था गरेर मात्र प्रयोग गर्छन् । शव बाहन चलाउन अस्पतालले छुट्टै चालक नियुक्त गर्न नसक्दा हरेक पटक अन्य गाडीका चालक खोजेर शव बाहन चलाउनुपर्ने बाध्यता छ । 

नीलकण्ठ –११ का एक पुरुषले आइतबार झुण्डिएर आत्माहत्या गरे । ५६ वर्षिय रामकृष्ण शाक्यको शव वाहनको अभावमा सोमबार दिउँसो पौने १ बजे मात्रै मृतकका आफन्तलाई चालक बनाएर धादिङ अस्पताल ल्याए । ‘आइतबार बेलुका नै पोष्टमार्टमका लागि शव अस्पताल ल्याउन शव बाहन खोज्दा कतै नपाएपछि आफैँ चालक व्यवस्था गरेर शव वाहन लगिएको स्थानीय बलराम शाक्यले बताउनुभयो । 

मृतकका आफन्तले नै चालक खोजेर शव बाहन चलाउनुपरेको यो एक उदाहरण हो । जब शव बोक्नुपर्छ, चालक खोज्नुपरेको घटना थुप्रै छन् । अस्पताल व्यवस्थापन समितिले चालकको चाँजो मिलाउन सकेको छैन । दुई वर्षदेखि कहिले अस्पतालकै एम्बुलेन्स चालकले त कहिले मेडिकल सुरिटेन्डेन्ट चढ्ने गाडीका चालकले शव वाहन चलाउने गरेका छन् । एम्बुलेन्स चालक र मेसुका चालक पनि अनेकन बहानामा शव वाहन चलाउन नमान्ने गरेको पीडितहरुको गुनासो छ ।  

मृतकका आफन्तले शव वाहन माग गर्दा अस्पताल प्रशासनले बहाना बनाएर टार्नेगरेको छ । ज्यामरुङका गणेश शाक्यका अनुसार चालक नभएपछि बहाना बनाउनु जिल्ला अस्पताल धादिङका कर्मचाचारीको विशेषता बनिसकेको छ । बागमती प्रदेश सरकारले शव वाहन दिएको करिव दुई वर्ष भयो । 

अहिलेसम्म शव वाहन चलाउन चालक नियुक्त गरिएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालका अनुसार डेढ महिना अघिदेखि शव वाहन चालकको आवश्यकता सूचना गरेको त्यसमा आठ जनाको दरखास्त परे पनि व्यवस्थापन समिति सक्रिय नबन्दा पदपूर्ति हुन सकेन । 

अस्पतालको शव वाहन अन्य चालकले चलाएर शव अस्पतालसम्म ल्याएकोबारे आफूलाई जानकारी नभएको डा. दाहालले बताउनुभयो । बागमती प्रदेश सरकारले शव वाहन दिए पनि चालकको व्यवस्था नगरिदिँदा समस्या आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । चालक अभावले वाहन नचलेको, खेतालाबाट चलाउन परेकोबारे धमलाले थाहा नभएको बताउनुभयो । जिल्ला अस्पताल धादिङमा दुई जना चालकको दरबन्दी छ ।