• १९ असार २०८१, बुधबार

कर्णाली कोरिडोर बन्द

blog

कालीकोट समाचारदाता

कालीकोट, साउन १५ गते । हिल्सा जोड्ने कर्णाली कोरिडोर एक हप्तादेखि बन्द छ । दैनिकजसो पानी परेपछि भर्खरै खुला गरिएको ट्र्याक हिलाम्मे भएका कारण यातायात सञ्चालन हुन सकेको छैन ।

ट्रकचालक महावीर खड्काका अनुसार कोरिडोरको लाफा सडकखण्ड आइतबारदेखि बन्द भएको छ । सडकमा गाडी फसेको अवस्था छ । 

फसेको गाडी निकाल्ने कुनै साधन नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन् । हिलो सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्काले बताउनुभयो ।

पचालझरना गाउँपालिका–८ मा पर्ने सो क्षेत्रमा सडकमै पानीको मूल फुट्ने भएकोले दैनिकजसो हिलो बगिरहन्छ । त्यही हिलोमा सामानले भरिएका गाडी सञ्चालन हुन नसकेर हप्ता दिनदेखि यातायात ठप्प छन् । 

पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले पनि खुला गर्न पहल नलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “न सरकार देखियो न सडक विभाग । हप्ता दिनसम्म सडक बन्द हुँदा खुलाउन कसैले चासो दिएनन् ।”

सडक खुला गर्ने विषयमा स्थानीय प्रशासन पनि मौन भएपछि समस्या झन् बढेको उहाँको भनाइ छ । सडक भए पनि सर्वसाधारण पैदल यात्रा गरिरहेका छन् । 

कोरिडोरको कालीकोट खण्ड ४२ किलोमिटर छ । त्योमध्ये छ ठाउँमा सडकको नामनिसाना छैन, हिलोका साथै फुगाडमा पुल नभएकाले पानी बढेपछि गाडी तार्न सकिएको छैन । कोरिडोरमा नाला र खोलामा पुल नभएका कारण बर्सेनि दुःख भएको स्थानीयवासी बताउँछन् । जहाँ सजिलो माटो छ, त्यहाँ एक्साभेटरले खनेर सडक चौडा गरिरहेका छन् तर जोखिम क्षेत्रमा हिउँदमा काम गर्ने भन्दै बाँकी छोडेका कारणले पनि समस्या भएको गुनासो स्थानीयवासीको छ ।

यता कर्णाली लोकमार्ग पनि दैनिक अवरोध भइरहेको छ । पानी पर्दा बन्द हुने गरेको छ । गत वर्षभन्दा यो वर्ष भने अलि कम समय अवरोध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।