• ८ जेठ २०८१, मङ्गलबार

अठार हजार बढी सवारीसाधन कारबाहीमा

blog

दुर्घटना न्युनीकरण गर्न पाल्पाको जोर्तेमा जानकारीमुलक बोर्ड राख्दै ट्राफिक प्रहरी । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन १४ गते । एक वर्षको अबधिमा पाल्पामा १८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा १८ हजार चार सय ६६ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारीसधान सञ्चालन गरेको पाइएकाले कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको छ । गत आवमा पाँच हजार पाँच सय ५० मोटरसाइकल कारबाहीमा परेको प्रहरीले जनाएको छ । 

यस्तै, पाँच हजार तीन सय ९४ जिप र कार, तीन हजार पाँच ८७ टिपरसहित ट्रक र मिनी ट्रक, दुई हजार चारसय ६४ बस तथा मिनी बस कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । यस्तै एक हजार चारसय ७१ ट्याक्टर समेत कारबाहीमा परेको उहाँले जानकारी दिनुभयो ।  

ट्राफिक प्रहरीको कारबाहीबाट आर्थिक वर्ष २०७८–७९ मा एक करोड १३ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको मल्लले बताउनुभयो । क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्ने, अत्यधिक गतिमा कुदाउने, सवारीचालक अनुमतिपत्र नलिनेलाई कारबाही गरिएको छ । यस्तै, जहाँतहीँ पार्किङ् गर्ने, बेल्ट नलगाई सवारी हाक्ने, मोटरसाइकलमा तीन जना यात्रु बोक्नेलाई समेत कारबाही गरिएको प्रनानि मल्लले बताउनुभयो ।  

जिल्लामा दुर्घटना हुनेक्रम बढेकाले सम्भावित दुर्घटनालाई न्युनीकरण गर्ने अभियान अन्तर्गत ट्राफिक कारबाहीलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ । चेकजाँच र सचेत पार्ने अभियानले दुर्घटना न्युनीकरण गर्न भूमिका खेलेको मल्लले बताउनुभयो । प्रहरीले दुर्घटना न्युनीकरण गर्न जनचेतना अभिवृद्धि, होर्डिङ् बोर्ड राख्ने, चेकजाँच गर्नेलगायतको क्रियाकलाप गर्दैआएको छ ।