शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शशिधर पराजुली
विराटनगर, वैशाख ९ गते । विराटनगर विमानस्थलबाट चाँदीसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१ बस्ने ४४ वर्षीय आशिष रिजाललाई चाँदीसहित पक्राउ गरेको हो ।
रिजालले चाँदी खरिद गरेको बिल बिजक उपलब्ध गराउन नसकेपछि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । रिजालको साथबाट ३८४ ग्राम ९२० मिलिग्राम चाँदी फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विमानस्थलको सुरक्षाका लागि खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त चाँदी बरामद गरेको हो ।
रिजाल विराटनगरबाट श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँ जान लागेको प्रहरीले जनाएको छ । रिजाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।