विसं २०१७ मा जनकपुर चुरोट कारखाना स्थापना गर्न स्थानीयवासीको ३३.५ बिघा जग्गा अधिकरण गरियो । २०१९ मङ्सिर ८ गतेदेखि रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा कारखाना निर्माण कार्य सुरु भयो । २०२१ सालमा उद्घाटन भई यस कारखानाले उत्पादन गर्न सुरु ग¥यो । देशभर १०५ वटा शाखामा करिब तीन हजार स्थायी कर्मचारी र तीन हजारभन्दा बढी अन्य व्यक्ति काम गर्थे । तीन अरबसम्म चुरोटको खिल्ली उत्पादन गरी देश र विदेशमा बिक्री हुन्थ्यो । चुरोट बनाउन करिब चार करोड रुपियाँको सुर्ती पात विभिन्न जिल्लाका कृषकबाट किनिन्थ्यो । अपुग सुर्ती भारतबाट आयात गरिन्थ्यो । कारखानाले दैनिक केही समयका लागि स्थानीयवासीलाई समेत विद्युत् वितरण गरी सहयोग गरेको थियो । वरिपरिका कृषकले खाद्यान्न तथा तरकारी उत्पादन गरी कारखानाका कर्मचारीमा बिक्री गरी आम्दानी गर्थे ।
पूर्ण क्षमतामा चल्दा यो कारखानाले देशलाई धेरै राजस्व बुझाउँथ्यो तर २०४६ सालको राजनीतिक परिवर्तनपछि दलहरूको हस्तक्षेप हुँदा कर्मचारी विभिन्न दलमा आबद्ध भए । कारखानाले लक्ष्य अनुसार प्रगति हासिल गर्न सकेन । बिस्तारै घाटामा गई २०६८ सालदेखि उत्पादन नै गर्न सकेन । २०७० असार २० गतेदेखि पूर्ण रूपमा बन्द भयो । हाल सो कारखानाको केही जग्गा र भवन मधेश प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रालयले प्रयोग गरिरहेको छ । अभैm पनि यहाँ निम्न उद्योग सञ्चालन गर्न सकिन्छ ।
इथानोल उद्योग
जनकपुर नेपालको उष्णप्रदेशीय जलवायु भएको क्षेत्रमा पर्छ । यहाँ बर्सातमा खास गरी धान ऊखु, मकै, कोसेबालीको खेती गरिन्छ भने हिउँदमा गहुँ, कोसेबाली, तेलबाली, मकै आदि लगाइन्छ तर हिउँदे बाली भित्र्याएपछि धान लगाइने क्षेत्र (१४,३८,९८९ हेक्टर) को करिब २५–३० प्रतिशत सिँचाइको सुविधायुक्त क्षेत्रमा चैतेधान, मकै, उखु, कोसेबाली, तेलबाली लगाइन्छ । बाँकी ७० देखि ७५ प्रतिशत अर्थात् १०,०७,२९० हेक्टर जग्गा खाली रहन्छ । यो खाली जग्गाको थोरै व्यवस्थापन गरी मौसम सुहाउँदो बाली लगाउन सकिन्छ ।
उष्णप्रदेशीय जलवायु भएका दक्षिण भारत, इन्डोनेसिया, चीन, अफ्रिका, युरोप, अमेरिका आदि स्थानमा प्रशस्त मात्रामा जुनेलोको खेती गरिन्छ । मुख्य रूपले जुनेलो मकै र उखु जस्तो मोटो डाँठ र पाँच/छ फिट उचाइ, छोटो अवधि (६० देखि १२० दिनमै) पाक्ने, मध्यदेखि उच्च तापक्रम (१५० देखि ४०० सेन्टिग्रेट) मा हुने, कम उर्वरक माटो तथा कम चिस्यान वा अवशिष्ट चिस्यान अर्थात् सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिन्छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्र, (भिएना, अस्ट्रिया) को सहयोगले विभिन्न देशमा जुनेलोको बिउलाई विकिरणले उपचार गरी उत्परिवर्तन प्रजननको प्रक्रियाद्वारा जुनेलोमा बढी सुगरको मात्रा भएका प्रजाति विकास गरिएका छन् । त्यसैले यसलाई गुलियो जुनेलो भनिन्छ । यो विकसित गुलियो जुनेलोको डाँठलाई पेलेर निकालिएको रसलाई प्रशोधन गरी जैविक इथानोल उत्पादन गर्न सकिन्छ । बढी प्रोटिनयुक्त हुनाले उत्तम पशु आहार वा विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ । दाना भने खाद्यान्न वा पशु आहारमा प्रयोग गर्न सकिन्छ । यसरी उत्पादित जैविक–इन्धनलाई कोइला, एलपिजी, पेट्रोलियम जस्ता जीवाश्म इन्धनको विकल्पका रूपमा प्रयोग गर्न थालिएको छ । यो इथानोलको प्रयोगले कार्बन उत्सर्जन घटाउन र वातावरणीय स्थिरता कायम गर्न मद्दत पनि पुगेको छ ।
नेपाल जस्तो कृषिप्रधान देशमा इथानोल उत्पादनको ठुलो सम्भावना छ । सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउने नीति (२०८२) मार्फत यसको प्रवर्धन गर्ने निर्णय गरेकाले यसको महत्व झनै बढेको छ । हिउँदे बाली भित्र्याएपछि धान रोप्ने बेलासम्मको गर्मीयाममा खाली रहने दसौँ लाख हेक्टर जग्गामा थोरै व्यवस्थापन गरी अवशिष्ट चिस्यानलाई छोपी अन्तरवर्ती बालीको रूपमा गुलियो जुनेलोको बृहत् खेती गर्न सकिन्छ । यसरी गरिएको बृहत् खेतीको जुनेलोबाट रस निकाली प्रशोधन गर्ने कारखानाको स्थापना गर्न सकिन्छ । औद्योगिक स्तरमा जैविक–इथानोल उत्पादन गर्न सकिए सरकारको उपरोक्त नीति सफल हुनुको साथै एलपिजीको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । अन्तर्राष्ट्रियस्तरमा भएको अनुसन्धान अनुसार गुलियो जुनेलोबाट करिब २,५०० देखि ७,००० लिटर इथानोल प्रति हेक्टर निकाल्न सकिन्छ । सरदर २,५०० लिटर प्रति हेक्टर मात्र उत्पादन गर्न सकियो भने गर्मीयाममा खाली रहेको जग्गामा गुलियो जुनेलोको खेती गरिए हाम्रो मागलाई धान्न सकिन्छ ।
यसरी जनकपुर चुरोट कारखाना लिमिटेडको पूर्वाधारलाई आवश्यक रूपान्तरण गरी इथानोल निकाल्ने कारखाना स्थापना गर्न सकिए राष्ट्रिय अर्थतन्त्रमा फेरि यसको योगदान पुनः स्थापित गर्न सकिन्छ । युवालाई रोजगारी दिन सकिन्छ । इन्धन परनिर्भरताबाट आत्मनिर्भरतातिर उन्मुख हुन सकिन्छ । सुर्ती बालीको ठाउँमा गुलियो जुनेलो खेती गरी कृषकको आम्दानी बढाउन सकिन्छ । इथानोल प्रयोग वातवरणमैत्री भएकाले प्रदूषणसमेत कम हुन जान्छ ।
प्लाइबोर्ड उद्योग
नेपालमा हाल प्लाइबोर्डको प्रयोग बढ्दै गएको छ । प्लाइबोर्ड, कागज, खाना खाने प्लेटदेखि बजारमा किनमेल गर्ने थैला आदि बनाउन धेरैजसो काठ तथा खेर गएका सामान आदि प्रयोग गरिन्छ । हाल अन्तर्राष्ट्रिय स्तरमा पराल, छ्वाली, उखु पेलेर रहेको अवशेष, बाँस, पुरानो कपडा आदिबाट विभिन्न घनत्वका प्लाइबोर्ड, थैला, गुणस्तरीय कागज आदि उत्पादन भइरहेका छन् । हामीकहाँ पनि यसको निकै सम्भावना छ । नेपालमा धान र गहुँ मुख्य अन्न बालीका रूपमा उत्पादन हुन्छन् । आ.व. २०८०/८१ मा धान र गहुँको उत्पादन क्रमशः ५७ लाख २४ हजार २३४ र २० लाख ३५ हजार ५५९ मेट्रिक टन भएको देखिन्छ । बोटबिरुवाको शारीरिक बनोट अनुसार दानाको उत्पादन भए जति सरदरमा पराल, छ्वाली पनि त्यति नै उत्पादन भएको अनुमान गर्न सकिन्छ । यो आँकडा अनुसार वार्षिक पराल, छ्वाली पनि करिब ७७ लाख ५९ हजार ७९३ मेट्रिक टन हुने गर्दछ तर विगत तीन/चार दशक यता युवा वैदेशिक रोजगारीमा पलायन हुँदा पशुपालन (राँगागोरु) घट्दो छ । खेतीबारी जोत्न ट्याक्टर प्रयोग हुन्छ । त्यसैले पराल र छ्वाली सबै खेतमै जलाइन्छ तर यी पराल र छ्वालीलाई कारखानामा प्रयोग गरी विभिन्न किसिम र स्तरका प्लाइबोर्ड आदि बनाउन सकिन्छ । यी प्लाइबोर्ड आगो र पानी सहन सक्ने, धमिरा नलाग्ने भएकाले घर, कार्यालय, पसल, होटल आदि निर्माण कार्यदेखि फर्निचर बनाउन प्रयोग गर्न सकिन्छ । यसबाट रुख कटानी रोकिनुको साथै पराल, छ्वाली जलाउँदा हुने वातावरण प्रदूषण रोकिन्छ । कृषकलाई पराल बिक्रीबाट थप आर्थिक आम्दानी हुन्छ भने कारखानाबाट राष्ट्रलाई समेत राजस्व आम्दानी भई अर्थतन्त्र बलियो हुन्छ ।
ब्लक उद्योग
धानको राम्रो उत्पादनका लागि ‘क्ले’ माटो उपयुक्त हुन्छ । इँटा बनाउन पनि मुख्य रूपले क्ले माटो तथा पकाउन कोइला र दाउरा चाहिन्छ । रूख रोप्नु र जङ्गलको संरक्षण गर्नु वातावरण संरक्षण गर्नु हो । हाल भइरहेको इँटा बनाउने कार्यले धान खेतीमा ठुलो प्रतिस्पर्धात्मक नकारात्मक असर पारेको छ । गाउँ गाउँका रूख कटानी भई इँटा चिम्नीहरूमा दाउरा प्रयोग भइरहेका छन् । चिम्नीबाट निस्कने धुलाका कण मिश्रित धुवाँले वातावरण प्रदूषित भई सबै किसिमका जीवजन्तुलाई नकारात्मक असर पारेको छ । धेरै देशमा इँटाको विकल्पका रूपमा एएसी स्लाब वा ब्लक बनाउने कारखाना स्थापित गरिएका छन् । एएसी ब्लक बनाउने कारखाना स्थापित गर्न सके उपरोक्त समस्य सामाधान हुन सक्छ । युवाले रोजगारी पाउँछन् । वातावरण स्वच्छ रहन्छ । कारखानाबाट राजस्व प्राप्त भई राष्ट्रिय अर्थतन्त्र बलियो बन्छ ।
शीत कक्ष भण्डारण
आजभन्दा करिब चार दशक पहिले निजीस्तरमा एउटा शीत कक्षको निर्माण जनकपुरमा भएको थियो । वरिपरिका कृषक बृहत् रूपमा आलु खेती गरेर उत्पादित आलु शीत कक्षमा भण्डरण गर्न थाले तर विद्युत्को लोडसेडिङले भण्डारण गरिएका सामग्री कुहिएर कृषकले नोक्सानी बेहोर्नु प¥यो । यो क्षतिले कृषकहरू निरुत्साहित भई आलुखेती छाडे । यहाँका कृषक धेरै नै मेहनती छन् । शीत कक्षको निर्माण भए नीतिगत व्यवस्थापन गरी युवालाई प्राविधिक तालिम दिई फलफूल–तरकारी तथा आलु खेती गर्न प्रेरित गर्न सकिन्छ । फलफूल–तरकारी र आलु नगदे बाली भएकाले व्यावसायिक रूपमा धेरै आम्दानी गर्न सकिन्छ । उत्पादित सामग्री भण्डारण गरी बिक्री गर्दा झन् राम्रो आम्दानी लिन सकिन्छ । स्वदेशमै रोजगारी पाउनुको साथै विदेशबाट विषादीयुक्त फलफूल–तरकारी आयात गर्नु पर्दैन । यसले राष्ट्रिय अर्थतन्त्र उकास्न पनि सघाउँछ ।