• ३० चैत २०८२, सोमबार

चितवनका मौरीपालक महोत्तरीका जङ्गलमा

blog

बर्दिबासलगायत महोत्तरीका जङ्गलमा मह निकाल्दै खैरिनीका मौरीपालक किसान। तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 
बर्दीबास, चैत ३० गते ।
मौरी चरिचरनको मुख्य सिजनमा मौसम खासै अनुकूल नभए पनि यस वर्ष महोत्तरीमा मह उत्पादन उल्लेख्य रूपमा बढेको छ। वसन्त ऋतुमा पर्याप्त फूल फुल्नुका साथै वन डढेलोका घटनामा कमी आउँदा उत्पादन बढेको मौरीपालक कृषकहरूले बताएका छन्।

चितवनको खैरिनीटारस्थित नवजागरण मौरीपालक कृषक समूह का अनुसार यस वर्ष फागुन र चैत महिनामा महोत्तरीको जङ्गली क्षेत्रबाट २६ हजार ८ सय किलो (२६८ क्विन्टल) मह उत्पादन भएको छ। उत्पादित महको होलसेल मूल्य करिब एक करोड ६० लाख रुपियाँ बराबर रहेको जनाइएको छ।

अगुवा मौरी कृषक सुरेश बस्नेतका अनुसार यो उत्पादन पछिल्ला दुई वर्षको तुलनामा धेरै हो। विगतमा वन डढेलो, हावाहुरी र मौसमी प्रतिकूलताका कारण महोत्तरीका जङ्गलमा पर्याप्त फूल नफुल्दा २०८० सालमा १२० क्विन्टल र २०८१ सालमा ६५ क्विन्टल मात्र मह उत्पादन भएको उहाँले स्मरण गर्नुभयो।

यद्यपि यस वर्ष पनि मौसम पूर्ण रूपमा अनुकूल भने थिएन। चैत महिनाभरि पटक–पटक आएको असिना पानी र हावाहुरीले मह संकलनमा असर पारेको बस्नेतले बताउनुभयो। सामान्यतया ११–१२ दिनको अन्तरालमा मह निकाल्न सकिने भए पनि यस सिजनमा दुई पटक मात्र मह काढ्न सकिएको उहाँले बताउनुभयो।

बस्नेतले भन्नुभयो, “एक दिन पानी परेपछि दुई दिनसम्म माहुरीले रस सङ्कलन गर्न सक्दैन। हुरीबतासले फूलको रस (नेक्टर) सुकाउने र पानीले पखाल्ने भएकाले उत्पादनमा असर पर्छ।”

उहाँका अनुसार मह सङ्कलनको मुख्य स्रोत युक्लिप्टस (भिक्स) का रुखमा यस वर्ष अत्यधिक फूल फुलेका कारण मौसममा उतारचढाव भए पनि उत्पादन बढ्न मद्दत पुगेको हो।

बस्नेतले सम्झनुभयो, “सात वर्षपछि यो वर्ष युक्लिप्टसका रुखमा सबैभन्दा बढी फूल फुलेका कारण मह उत्पादन बढेको हो।”

युक्लिप्टसको मह नजम्ने र औषधीय गुण बढी हुने भएकाले यसको माग र मूल्य पनि उच्च रहने गर्दछ। यही कारण चितवनका मौरीपालकहरू वसन्त ऋतु सुरु भएसँगै महोत्तरीका जङ्गलमा घारसहित आउने गरेका छन्।

फागुन–चैतमा महोत्तरीका जङ्गलमा भिक्स (युक्लिप्टस), रुदिलो, जामुनो, क्यामुनो, बाँझी, साखु, गुम्बा, सिसौ लगायतका वनस्पतिमा फूल फुल्ने भएकाले यस क्षेत्रलाई मह उत्पादनका लागि उर्वर मानिन्छ। त्यस्तै फागुनदेखि मधेशका गाउँघरमा लिची र सहजनका बोट पनि फूल्ने भएकाले चितवनका कृषकहरूले २०६४ सालदेखि यहाँ मौरीका घार ल्याउने गरेका छन्।

यस वर्ष फागुन ११ गते मेलिफेरा जातका दुई हजार ६८० मौरी घारसहित ३० जना कृषक महोत्तरी आएका छन्।

हाल बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका विभिन्न बारी, बगैचा तथा सागरनाथ वन विकास परियोजनाको युक्लिप्टस जङ्गलमा मौरीका घार राखिएका छन्। बर्दिबासको बुद्धचोक, हात्तीलेट तथा गौशाला नगरपालिकाको रामनगर, तारेचौरी र लक्ष्मिनिया क्षेत्र मह सङ्कलनका प्रमुख केन्द्र बनेका छन्।

मौसमले साथ दिएको भए यस वर्ष ३०० क्विन्टलभन्दा बढी मह उत्पादन हुने अनुमान गरिएको थियो। तथापि विगतको तुलनामा उत्पादनमा आएको सुधारले उत्साह थपेको कृषकहरूले बताएका छन्।