• ३० चैत २०८२, सोमबार

गृहमन्त्री गुरुङद्वारा दाउन्ने सडक खण्डको निरीक्षण

blog

गृहमन्त्री सुधन गुरुङ दाउन्ने सडक खण्डको स्थलगत निरीक्षणका क्रममा । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत ३० गते ।
गृहमन्त्री सुधन गुरुङले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको विस्तार कार्यमा भइरहेको ढिलासुस्तीप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। आइतबार दाउन्ने सडक खण्डको स्थलगत अवलोकन गर्दै उहाँले निर्माण कार्यलाई तत्काल तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिनुभएको हो।

सडकको दुरावस्थाका कारण यात्रु र स्थानीयले लामो समयदेखि सास्ती भोग्नुपरेको जनगुनासो बढेपछि गृहमन्त्री गुरुङ आफैँ वस्तुस्थिति बुझ्न सडक खण्डमा पुग्नुभएको थियो। सो क्रममा उहाँले निर्माण कम्पनीका प्रतिनिधि र आयोजना कार्यालयका सरोकारवालाहरूलाई सँगै राखेर कामको ढिलाइबारे जवाफ माग्नुभएको थियो।

निरीक्षणका क्रममा नेपाल आयोजना कार्यालयका अधिकारीहरूले हालसम्मको प्रगति र निर्माणमा देखिएका प्राविधिक समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए। गृहमन्त्रीले सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरणमा कमी हुन नदिने तर निर्माण पक्षले नतिजा देखाउनुपर्नेमा जोड दिनुभयो।

दाउन्ने खण्डमा दैनिक हुने ट्राफिक जाम र धुलोका कारण यात्रुहरू आजित भइरहेका बेला गृहमन्त्रीको यो निर्देशनले निर्माण कार्यमा केही सुधार आउने आशा स्थानीयले राखेका छन् ।