• २९ चैत २०८२, आइतबार

पसगाउँमा रैथाने उत्पादन प्रदर्शन

blog

लमजुङ समाचारदाता

लमजुङ, चैत २९ गते । लमजुङको ग्रामीण पर्यटकीय गाउँ पसगाउँमा आयोजित १६ औँ पसगाउँ महोत्सवमा रैथाने बालीका उत्पादनदेखि परम्परागत हस्तकलाका सामग्री प्रदर्शन गरिएको छ । लमजुङको क्व्होँलासोथार गाउँपालिका अन्तर्गत पसगाउँमा भएको महोत्सवमा स्थानीय संस्कृतिसँगै घरेलु तथा जङ्गली उत्पादन र गुरुङ जातिले पौराणिक कालदेखि प्रयोग गर्दै आएको हस्तकलाका सामग्री मुख्य आकर्षण रहेका थिए ।

महोत्सवमा परम्परागत सारङ्गी नाच, घाटु, कृष्णचरित्रलगायत प्रस्तुत गरिएको थियो । हस्तकलाका सामग्री डोको, नाम्लो, थुन्से, पुन्द्रो, पेरुङ्गो, पेराँडा, ठेकी, मदानी, तोँब्यो, चकटी, गुन्द्री, राडी, बक्खु राखिएको थियो । त्यसै गरी उन, चर्खालगायतका परम्परागत सामग्री प्रदर्शन गरिएको थियो । तामा र पित्तलका भाँडाकुँडा, ठुलो गाग्री, चर्खा, राडी, बक्खु बुन्ने परम्परागत यन्त्र (कोइँडो साजा) प्रदर्शनमा राखिएको थियो । स्थानीय कुषि उत्पादनमा तरुल, पिँडालु, टिमुर, सिलटिमुर, नारमु च्याउ, तितेकरेला, कर्कलो, गुन्द्रुक, भटमास, दाल, झिनुवा, आँगा धान, कागुनोको चामल, पिठोलगायत पनि महोत्सवमा प्रदर्शनमा राखिएको थियो ।

पसगाउँ सामूहिक होमस्टेको आयोजनामा भएको १६ औँ पसगाउँ महोत्सव सम्पन्न भएको छ । होमस्टे अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँको मौलिक तथा परम्परागत संस्कृति संरक्षण तथा ग्रामीण पर्यटन प्रवर्धन गर्न यस्ता महोत्सव प्रभावकारी माध्यम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिए पर्यटन प्रवर्धन हुन सक्छन् । हामीले गाउँ चिनाउन र पर्यटकलाई बोलाउन महोत्सव आयोजना गर्दै आएका छौँ ।” गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरुङले महोत्सवले आर्थिक गतिविधि चलायमान हुने र महिला स्वरोजगार बन्ने बताउनुभयो । 

समुद्री सतहबाट एक हजार ६५० मिटरको उचाइमा रहेको पसगाउँमा १७५ बढी घरधुरी छन् । २१ घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टेको प्याकेज एक हजार दुई रुपियाँ राखिएको छ । होमस्टेमा जङ्गली उत्पादनका स्वाददेखि गाउँघरमा फल्ने सागसब्जी, तरकारी, फलफूल साथै खाद्यान्नको स्वाद लिन सकिन्छ । ढुङ्गाले छाएका घर, घुमाउने घर, गुरुङ सङ्ग्रहालय, ऐतिहासिक तथा धार्मिक स्थल पसगाउँका हेर्नलायक सम्पदा रहेको होमस्टे सचिव रतनसिंह गुरुङले बताउनुभयो ।

गाउँमाथिको क्होम्रेडाँडा र ङ्योजेडाँडा पुगेपछि पोखरा आसपासका क्षेत्र मात्रै नभई मनाङ, गोरखा, कास्कीका ग्रामीण भेगदेखि सहरहरू देख्न सकिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्त मात्रै नभएर दर्जन हिमशृङ्खलाहरू लहरै देख्न सकिने होमस्टे सहसचिव भक्तबहादुर गुरुङले बताउनुभयो ।

लमजुङ सदरमुकाम बेँसीसहरबाट मालिङ, साल्मेभन्ज्याङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । साल्मेभन्ज्याङबाट चरागाउँ, बगैँचा हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । बेँसीसहरबाट घलेगाउँ, भुजुङ हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । त्यसै गरी बेँसीसहरबाट भोर्लेटार रामबजार अथवा पोखराबाट रामबजार भएर करापु, छापा, गिलुङ हुँदै साल्मेभन्ज्याङ निस्किएर चरागाउँ वा घाम्राङको बाटो पसगाउँ पुगिन्छ । पोखराबाट भैँसे, थुम्सीकोट, मुङ्ग्रीबेँसी, बालुवाबेँसी, बगैँचा हुँदै पसगाउँ पुगिन्छ । काठमाडौँबाट तनहुँको दमौली हुँदै लमजुङको दुईपिप्ले, भोर्लेटार, रामबजार हुँदै गिलुङको बाटो भएर पसगाउँ पनि पुग्न सकिन्छ । पहिले हिँडेर मात्रै पुग्न सकिने पसगाउँमा अहिले बस, जिप, मोटरसाइकलको माध्यमबाट सजिलै पुग्न सकिन्छ ।