• १४ चैत २०८२, शनिबार

सडक सुरक्षा सतर्कता

blog

सडक सञ्जाल विकासको मेरुदण्ड हो । पछिल्लो समय तथ्याङ्कले यसलाई त्रासदीको पर्यायका रूपमा उभ्याएका छन् । सुरक्षित गन्तव्यमा पु¥याउने माध्यम हुनुपर्ने हाम्रा सडक पछिल्लो समय असुरक्षा र जोखिमको चक्रव्यूह बन्दै गएका छन्, जुन राष्ट्रकै लागि गम्भीर चुनौती बनेको छ । दैनिक औसत आठ जना नेपालीले सडकमा ज्यान गुमाउनु केवल एउटा तथ्याङ्क मात्र होइन; यो त एउटा परिवारको भरोसा, देशको दक्ष जनशक्ति र एउटा ऊर्जावान् सपनाको अवसान हो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये ठुलो हिस्सा युवापुस्ताको छ, जो भोलिको राष्ट्रनिर्माता मात्र होइनन्, आजको घरको आर्थिक आधारस्तम्भ पनि हुन् । एउटा तन्नेरी सन्तानको अकाल मृत्युले परिवारलाई आर्थिक रूपमा मात्र होइन, भावनात्मक रूपमा कहिल्यै निको नहुने चोट पु¥याउँछ । एउटा गम्भीर प्रश्न उठ्छ, के यी सबै दुर्घटनाका लागि सडकको अवस्था र राज्यको संयन्त्र मात्र दोषी छन् ? कि हाम्रै घरभित्रबाट सुरु हुने ‘लापर्बाहीको संस्कार’ यसको मुख्य कारण हो ?

नेपाली समाजमा एउटा गलत प्रवृत्तिले जरो गाडेको छ । त्यो हो– सन्तानको हरेक मागलाई ‘माया’ को नाममा बिना सोचविचार पूरा गरिदिनु । छोराछोरीले अलिकति जिद्दी गर्नेबित्तिकै वा साथीभाइको देखासिकीमा पर्नेबित्तिकै हामी उनीहरूको हातमा महँगा र शक्तिशाली सवारीसाधन थमाइदिन्छौँ । विडम्बना त यो छ कि, कतिपय अवस्थामा उनीहरूसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत हुँदैन । अभिभावक आफैँले सन्तानलाई ‘बिस्तारै चलाउ है’ भन्ने सल्लाह दिन्छन् तर लाइसेन्सबिनै सवारी चलाउन दिइरहेका हुन्छन् । यस्तो विरोधाभासले बालबालिकाको मानसपटलमा नियमको सम्मान कमजोर बनाइदिन्छ ।

‘छोरा वा छोरीले चलाउन त जानिसक्यो, लाइसेन्स त पछि बनाउँदै गर्छ’ भन्ने अभिभावकको एउटा सानो छुटले उनीहरूलाई कानुन मिच्न र जोखिम मोल्न प्रोत्साहित गरिरहेको हुन्छ । लाइसेन्स नहुनु भनेको केवल एउटा कानुनी कागजको अभाव हुनु मात्र होइन, बरु सडकमा हुनुपर्ने प्राविधिक ज्ञान, धीरता र आपत्कालीन समयमा तत्काल लिनुपर्ने निर्णय क्षमताको अभाव हुनु हो । बिना लाइसेन्स सवारीसाधन किनिदिनु माया होइन, आफ्नै सन्तानलाई दुर्घटनाको असुरक्षित बाटोमा धकेल्नु हो ।

हामी आफ्ना सन्तानलाई अधिकारको प्रयोग गर्न त सचेत गराउँछौँ तर त्यही अधिकारसँगै आउने ‘नागरिक दायित्व’ र ‘राज्यको कानुन’ पालना गर्न सिकाउन भने अक्सर चुकिरहेका हुन्छौँ । हामीले बिर्सनु हुँदैन कि, सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जरिबाना वा कारबाहीबाट बच्ने उपाय मात्र होइन; यो त एउटा सुसंस्कृत समाजको प्रतिविम्ब र जीवनोपयोगी संस्कार हो । एउटा जिम्मेवार अभिभावकका रूपमा हामीले हाम्रा सन्तानको मानसपटलमा यी तीन वैचारिक चिन्तन भर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।

कानुनप्रति सम्मान 

हामीले हाम्रा छोराछोरीलाई यो बुझाउनु जरुरी छ कि ट्राफिक नियम कसैलाई दुःख दिन वा सजाय दिनका लागि बनाइएका तगारा होइनन् । यी त सडकमा गुड्ने प्रत्येक व्यक्तिको अमूल्य जीवन रक्षाका लागि कोरिएका सुरक्षा घेरा हुन् । जब एउटा चालकले रातो बत्तीमा सवारी रोक्छ वा लेन अनुशासन पालना गर्छ, उसले केवल कानुन मानेको हुँदैन, समाजका अन्य नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गरिरहेको हुन्छ । कानुनप्रतिको यो सम्मान ‘डर’ बाट होइन, ‘विवेक’ बाट निर्देशित हुनु पर्छ ।

अनुशासन र संयम 

आजको युवा पुस्तामा सडकमा तीव्र गतिमा सवारी कुदाउनुलाई ‘वीरता’ वा ‘साहस’ को प्रतीक मान्ने एउटा घातक भ्रम छ । वास्तविक वीरता त सडकको चाप र उत्तेजनाका बिच पनि आफ्नो गतिलाई नियन्त्रणमा राख्नु र नियमको परिधिभित्र रहेर चल्नुमा छ । सडक कुनै प्रतिस्पर्धा गर्ने मैदान होइन; यो त साझा गन्तव्यमा पुग्ने साझा थलो हो । “छिटो पुग्नु भन्दा सुरक्षित पुग्नु नै असल चालकको पहिचान हो” भन्ने संस्कार हामीले घरमै सिकाउनु पर्छ ।

सवारीको जिम्मेवार प्रयोग 

धेरैका लागि मोटरसाइकल वा गाडी एउटा विलासिताको साधन वा सामाजिक प्रतिष्ठाको विषय मात्र हुन सक्छ । जब कसैले सवारीको ‘स्टेरिङ’ वा ‘ह्यान्डल’ समात्छ, उसले आफ्नो मात्र होइन, सडकमा हिँड्ने अपरिचित यात्रुको जीवनको जिम्मेवारी पनि सँगै बोकेको हुन्छ । सवारीसाधन एक प्राविधिक औजार मात्र नभई एक गम्भीर मानवीय जिम्मेवारीसमेत हो । यसको सानो दुरुपयोगले एउटा परिवारको खुसी सधैँका लागि सखाप पार्न सक्छ भन्ने गाम्भीर्यता हाम्रा सन्तानले बुझ्नु पर्छ ।

अभिभावक नै सन्तानका लागि पहिलो ‘रोल मोडल’ हुन् । हामी आफैँ ट्राफिक नियम मिच्ने तर सन्तानलाई नियम पालना गर भनेर अर्ती दिइरहेका त छैनौँ ? अभिभावकले नै हेल्मेट नलगाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने वा मदिरा सेवन गरेर सवारी चलाउने हो भने हाम्रा सन्तानले त्यही लापरबाहीलाई ‘संस्कार’ का रूपमा सिक्छन् । त्यसैले, उनीहरूलाई नियम सिकाउनु अघि हामी आफैँले नियमको पालना गरेर एउटा जीवित उदाहरण प्रस्तुत गर्नु जरुरी छ । 

कुनै पनि व्यक्तिको आचरण र व्यवहारको जग उसको घरबाटै सुरु हुन्छ । हामीले घरमै सडक सुरक्षा संस्कारको विकास गर्ने हो भने यसले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ । एउटा सानो बानीले ठुलो परिवर्तन ल्याउन सक्छ । जब घरबाट कोही सदस्य सवारीसाधन लिएर निस्कन्छ, तब परिवारका अन्य सदस्यले बिस्तारै चलाउनु, हेलमेटको फिता लगाउनु र मोबाइल फोन प्रयोग नगर्नु जस्ता कुरा सम्झाउने बानी बसाल्नु पर्छ । यो सुन्दा सामान्य लाग्न सक्छ तर यसले चालकको मनोविज्ञानमा गहिरो प्रभाव पार्छ । उसलाई घरमा आफ्नो प्रतीक्षा गरिरहेका बुवाआमा, जीवनसाथी वा छोराछोरीको सम्झना आउँछ, जसले गर्दा उसले सडकमा संयमता अपनाउँछ ।

सडक दुर्घटनाले देशको उत्पादक जनशक्तिलाई प्रत्यक्ष असर गरिरहेको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवा दुर्घटनाको उच्च जोखिममा छन् । जब घरको आर्थिक मेरुदण्ड मानिने युवाको मृत्यु हुन्छ वा ऊ गम्भीर घाइते भई दीर्घकालीन अशक्त बन्छ, तब सिङ्गो परिवार गरिबीको चपेटामा पर्छ । उपचारमा हुने लाखौँको खर्च र कमाउने व्यक्तिको अभावले परिवार तहसनहस हुन्छ । सडक सुरक्षालाई केवल प्राविधिक विषय मात्र नभई आर्थिक र सामाजिक सुरक्षाको पाटोबाट पनि हेर्नु आवश्यक छ ।

सडक सुरक्षित बनाउन राज्यको लगानी र ट्राफिक प्रहरीको सक्रियता मात्र पर्याप्त हुँदैन । यसको वास्तविक सुरुवात हरेक घरबाट हुनु पर्छ । त्यसैले अब हामी सबैले एउटा सङ्कल्प गरौँ – घरबाट सुरु गरौँ– सडक सुरक्षा संस्कार । आफ्ना सन्तानलाई सवारीसाधनको साँचो सुम्पनुअघि उनीहरूको हातमा चालक अनुमतिपत्र (लाइसेन्स) र मस्तिष्कमा जिम्मेवारी दुवै छन् कि छैनन् ? सुनिश्चित गरौँ । मायाको नाममा उनीहरूको गल्तीलाई प्रश्रय दिनु उनीहरूलाई जोखिमतर्फ धकेल्नु हो । सडकमा केही मिनेट देखाइने तीव्र गति वा स्टन्टले क्षणिक रोमाञ्च त दिन सक्छ, तर त्यसले जीवनभरको पश्चात्ताप निम्त्याउन सक्छ ।

हरेक अभिभावकले आफ्ना सन्तानलाई सडकमा अनुशासित र जिम्मेवार नागरिकका रूपमा उभ्याउने जिम्मेवारी लिने हो भने मात्र दैनिक आठ नेपालीले ज्यान गुमाउनुपर्ने यो कहालीलाग्दो यथार्थ घटाउन सम्भव हुन्छ । सडक सुरक्षा कुनै औपचारिक नियम मात्र होइन; यो जीवन जोगाउने संस्कार पनि हो । त्यसैले यसलाई हाम्रो जीवनको अभिन्न अङ्ग बनाऔँ, किनकि तपाईंको सुरक्षामै तपाईंको परिवारको खुसी र भविष्य सुरक्षित छ । ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।