• २६ फागुन २०८२, मङ्गलबार

मतदाता शिक्षा कमजोर, बाँकेमा १३ हजार ४४२ मत बदर

blog

निर्वाचन अघि दिइएको मतदाता शिक्षा । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन २६ गते ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार जिल्लामा १३ हजार ४४२ मत बदर भएको पाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा बाँकेको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा ती मत बदर भएको हो ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य २०७९ को निर्वाचनमा बाँकेमा १५ हजार ३३५ मत बदर भएको थियो । सो तुलनामा यस पटक केही कम देखिए पनि धेरै फरक परेको छैन ।

जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जिल्लाका आठवटै पालिकाका ८१ वटै वडामा मतदाता शिक्षा सञ्चालन भए पनि मतपत्रमा दुई वा दुईभन्दा बढी सङ्केत गरेको र ल्याप्चेसमेत हानेको पाइएकाले १३ हजार ४४२ मत बदर भएको पाइएको बताउनुभयो ।

उहाँले त्यसबाहेक चिन्ह माथि छाप लगाएको, मत माग्न आएका सबैको चिन्हमा छाप लगाएको र समानुपातिकतर्फ पनि सबैजसो चिन्हमा छाप लगाएको पाइएको पनि बताउनुभयो ।

मतदाता शिक्षा सञ्चालन गरिए पनि विभिन्न कारणले प्रभावकारी नदेखिएको  परिणामले देखाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका प्रमुख शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा कूल खसेको ७४ हजार ९९२ मध्ये चार हजार ८५, निर्वाचन क्षेत्र नम्बर २ मा कूल खसेको ७२ हजार सातमध्ये पाँच हजार ३०६ र निर्वाचन क्षेत्र नम्बर ३ मा कूल खसेको ७४ हजार ३१० मध्ये चार हजार ५१ मत बदर भएको छ ।

यसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर २ मा बदर मत रहेको छ भने सबैभन्दा कम निर्वाचन क्षेत्र नम्बर ३ मा बदर मत रहेको छ ।

जिल्लामा तीन लाख ५० हजार ३७१ मतदाता भएकोमा दुई लाख २१ हजार ३०९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।