• २२ फागुन २०८२, शुक्रबार

महोत्तरीमा ५९.८६ प्रतिशत मतदान

blog

अजय शाह

गौशाला (महोत्तरी), फागुन २१ गते । महोत्तरी जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५९.८६ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको अन्तिम विवरणअनुसार जिल्लाका ४ लाख ३३ हजार २८२ मतदातामध्ये २ लाख ५८ हजार १५७ मत खसेको हो।

जिल्लाभर रहेका २५६ मतदान स्थल र ५३६ मतदान केन्द्र मा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान सम्पन्न भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनुभयो । उहाँले छिटपुट घटना बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र अहिले मतपेटिका ढुवानी गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

अन्तिम विवरणअनुसार खसेको मतमध्ये १ लाख ३५ हजार ८५० महिला, १ लाख २२ हजार ३०५ पुरुष र २ जना अन्य मतदाता रहेका छन्।

निर्वाचन क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नं १ मा ६६ हजार २६६ मत खसेको छ। तीमध्ये ३४ हजार ५१५ महिला, ३१ हजार ७५० पुरुष र १ जना अन्य मतदाता रहेका छन्। यस क्षेत्रमा ६२.७२ प्रतिशत मतदान भएको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ६४ हजार ८४५ मत खसेको छ। तीमध्ये ३४ हजार ५७८ महिला र ३० हजार २६७ पुरुष मतदाता रहेका छन्। यस क्षेत्रमा ६०.२७ प्रतिशत मतदान भएको छ।

निर्वाचन क्षेत्र नं ३ मा ६१ हजार ७३७ मत खसेको छ। तीमध्ये ३३ हजार ३७ महिला, २८ हजार ६९९ पुरुष र १ जना अन्य मतदाता रहेका छन्। यस क्षेत्रमा ५५.९० प्रतिशत मतदान भएको विवरण प्राप्त भएको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ४ मा ६५ हजार ३०९ मत खसेको छ। तीमध्ये ३३ हजार ७२० महिला र ३१ हजार ५८९ पुरुष मतदाता रहेका छन्। यस क्षेत्रमा ६०.६९ प्रतिशत मतदान भएको छ।

यसैबीच जिल्लामा सञ्चालन गरिएको तीन अस्थायी मतदान केन्द्र मा पनि मतदान भएको र ती केन्द्रमा १३८ मत खसेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मतदान सम्पन्न भएसँगै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गर्ने काम भइरहेको छ। मतपेटिका पुगेपछि सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु गरिने जनाइएको छ।