• २० फागुन २०८२, बुधबार

स्याङ्जामा कडा सुरक्षा, अतिसंवेदनशील केन्द्र निगरानीमा

blog

निर्वाचन सुरक्षाका लागि मतदान स्थल तर्फ हिँडेको सुरक्षाकर्मीको टोली । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), फागुन २० गते ।
स्याङ्जामा बिहीबार (भोलि) हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ ।

जिल्लामा रहेको १९९ मतदान स्थलका ३२२ मतदान केन्द्रमा नै सुरक्षा तथा कर्मचारीहरुको टोलि पुगिसकेको छ ।

जिल्लामा रहेका ५६ वटा मतदान स्थललाई अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ मतदानस्थल समान्यको सूचीमा राखिएको छ ।

निर्वाचन क्षेत्रको अवस्था र स्तरका आधारमा विशेष सुरक्षा रणनीति तयार गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । विगतका निर्वाचनका आधारमा अहिले आउन सक्ने समस्यालाई मध्यनजर गरेर विशेष सुरक्षाको व्यवस्था मिलाईएको अर्यालको भनाइ छ ।

उहाँका अनुसार प्रशासनले जिल्लाको ११ वटै पालिकामा रहेका मतदानस्थलमा अवस्था अनुसारको सुरक्षा व्यवस्था मिलाएको हो ।

सबैको सहकार्यका कारण स्याङ्जामा अहिलेसम्म कुनै समस्या नआएको भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालले आचारसंहिता पालना, प्रचारप्रसारमा सौहार्दता, दलबिच सम्मानजनक व्यवहार तथा सञ्चारकर्मीको सहकार्यले चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

यसैबिच दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् ।  क्षेत्र नं. १ मा एक लाख ३० हजार ८८६ मतदाता र निर्वाचन क्षेत्र नं. २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् ।