काठमाडौं, साउन ३ गते। नेपाल कोरोनाको चौथो लहर प्रवेश गरेको छ। कोरोनाको चौथो लहर प्रवेश गरेसँगै सङ्क्रमणको ग्राफ दैनिक उकालो लाग्दै गएको छ। 
सोमबार पीसीआर र एन्टिजेन गरेर चार हजार ६५१ नमुना परीक्षण गर्दा ९.८२ प्रतिशत अर्थात् ४५७ जनामा सङ्क्रमण देखिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ पुगेको छ। 
आइतबार कुल तीन हजार ४१ परीक्षण गर्दा १३५ जना अर्थात् ४.४३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो। यो आइतबारको तुलनामा सोमबार दोब्बरमा सङ्क्रमण देखिएको हो। 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रुघाखोकी लागेका अघिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुघाखोकी कोरोना सङ्क्रमणका लक्षणहरुमध्ये एक हो। 
‘रुघाखोकी कोरोनासँग मिल्ने लक्षण हो। रुघाखोकी लाग्दा कोरोना परीक्षण गर्दा राम्रो हो। तर, रुघाखोकी लाग्ने सबैमा सङ्क्रमण पुष्टि नहुन पनि सक्छ’, उहाँले भन्नुभयो, ‘रुघाखोकी अरु कारणले पनि लाग्छ। रुघाखोकी लागेका सबै कोभिड होइनन् ।’
पछिल्लो समय निकै सङ्क्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए.५’ का कारण सङ्क्रमण तीव्र रुपमा फैलिरहेको छ। यो भेरिएन्ट अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने भनिएको छ। घाँटी दुख्ने, जीउ दुख्ने, थकित हुने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने, पसिना आउनेलगायत बीए.५ का लक्षण हुन्। जुन फ्लुसँग मिल्दोजुल्दो छ। 
यता, स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले कोभिड उपचारका लागि सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउनुभएको छ। 
मिडिया ब्रिफिङमा उहाँले, ‘जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्नुहोला भनिरहेका छौं। अक्सिजनको उपलब्धता राखिराख्न तथा प्रमुख नाकामा शङ्कास्पद नमुना जाँचमा बढी निगरानी गरेका छौं’, उहाँले भन्नुभयो।
असार महिना सुरु भएदेखि कोभिड सङ्क्रमणदर बढ्दै गइरहेको छ भने सङ्क्रमणबाट आइतबार र सोमबार गरी दुई जनाले ज्यान गुमाइसकेका छन्।  
करिब अढाई महिना सङ्क्रमण मृत्युदर शून्य रहेकामा पछिल्लो दुई दिनमा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत वैशाख २१ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। त्यस यता मृत्युदर शून्य थियो।
त्यस्तै, देशभर सङ्क्रमण पुष्टि हुनेमध्ये आधा काठमाडौं उपत्यकामा देखिएका छन्। आइतबार उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९९२ थियो भने सोमबार एक हजार १३३ पुगेको छ। जसमध्ये काठमाडौंमा एक हजार १३, भक्तपुरमा २८ र ललितपुरमा ९२ जना छन्।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                