अमरराज नहर्की
तनहुँ, फागुन १४ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँमा अस्थायी मतदाताहरूको लागि मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस पटक तनहुँमा कुल एक हजार ८६९ जना अस्थायी मतदाता कायम भएका छन् ।
अस्थायी मतदाताहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने गरी दमौलीस्थित कृषि विकास कार्यालय र तनहुँ कारागारमा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूले भने आफू खटिएकै केन्द्रबाट समानुपातिकतर्फको मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न अस्थायी मतदाताको हकमा विशेष ध्यान दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दी लगायतका अस्थायी मतदाताहरूको मताधिकार सुरक्षित गर्न दुईवटा विशेष केन्द्रको व्यवस्था गरेका छौँ। निर्वाचनलाई समावेशी र उत्साहजनक बनाउन कुनै कसर बाँकी राखिएको छैन ।’’
प्रमुख लम्सालले थप्नुभयो, “निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको छ र कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति सजग रहन निर्देशन दिइएको छ । यस पटक व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयको ‘ख’ केन्द्रलाई नमुना ‘महिला मैत्री’ केन्द्रका रूपमा सञ्चालन गर्दै महिला कर्मचारी र स्वयंसेवक मात्र परिचालन गरिनेछ ।’’
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी डोलराम शर्माका अनुसार जिल्लाभर कुल दुई लाख ५४ हजार ३९७ मतदाताका लागि १४४ मतदान स्थल र ३०९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र र अन्य सामग्रीहरू क्षेत्र नम्बर १ को दमौली र क्षेत्र नम्बर २ को दुलेगौँडामा कडा सुरक्षाका बिच राखिएको छ ।