सिराज खान
नेपालगन्ज, फागुन १० गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये हालसम्म ३० जनाले मात्र निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता खोलेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा आठ, क्षेत्र नम्बर २ मा १३ र क्षेत्र नम्बर ३ मा नौ गरी ३० जना उम्मेदवारले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत सर्वोदय उपाध्यायले निर्वाचन खर्च प्रयोजनका लागि जिल्लामा ३० जनाले मात्र खाता खोलेको र १० जनाले खाता खोल्ने सिफारिस लिएर गएको जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नुपर्नेमा हालसम्म पनि २६ जनाले खाता नखोलेकाले उनीहरूलाई पटक–पटक फोनमार्फत ताकेता गरिएको छ ।
अनुगमन अधिकृत उपाध्यायले भन्नुभयो, “फोन गरेर ताकेता गर्दा खाता खोल्ने प्रतिबद्धता सबैले जनाउनुहुन्छ तर कार्यान्वयन भएको पाइएको छैन । हामीले निरन्तर ताकेता गरिरहेका छौँ ।” खाता नखोल्नेमा अधिकांश स्वतन्त्र उम्मेदवार रहेको समितिले जनाएको छ ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था कार्यान्वयनको विषयमा निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत पूर्ण खत्रीले बताउनुभयो । उहाँका अनुसार उम्मेदवारको नाम, दल, क्षेत्र र बैंकको विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइँदै छ ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि ३१ लाख रुपियाँ र क्षेत्र नम्बर २ तथा ३ का लागि २९ लाख रुपियाँसम्म खर्चको सीमा तोकेको छ ।