ढाका, फागुन १० गते । बङ्गलादेशले भारतमा अवस्थित आफ्ना कूटनीतिक नियोगबाट भारतीय नागरिकका लागि पर्यटक भिसा सेवा सोमबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बङ्गलादेशको विदेश मन्त्रालयका एक अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् ।
सुरक्षा कारण देखाउँदै बङ्गलादेश सरकारले भारतस्थित आफ्ना कूटनीतिक मिसनबाट पर्यटक भिसा सेवा अस्थायी रूपमा निलम्बन गरेको थियो । तर फेब्रुअरी १२ मा सम्पन्न राष्ट्रिय निर्वाचनपछि समग्र अवस्थामा सुधार आएको निष्कर्षसहित अब सेवा नियमित रूपमा विस्तार गरिने अधिकारीले बताए ।
उनका अनुसार नयाँदिल्लीस्थित बङ्गलादेश उच्च आयोग तथा गुवाहाटी, अगरतला, मुम्बई र कोलकाता जस्ता सहरमा रहेका बङ्गलादेशी नियोगले पर्यटक भिसाबाहेक अन्य अधिकांश भिसा सेवा जारी राखेका थिए । “पर्यटक भिसा सामान्यतया रोकिएको थियो, यद्यपि अत्यावश्यक अवस्थामा जारी गरिएको थियो”, उनले भने । औपचारिक रूपमा निलम्बन घोषणा नगरिए पनि सेवा सीमित गरिएको र अब सोमबारदेखि व्यापक रूपमा पुनः सुरु गरिने उनले स्पष्ट पारे ।
निर्वाचनको पूर्वसन्ध्यामा, जनवरी १५ देखि फेब्रुअरी १५ सम्म भारतस्थित सबै बङ्गलादेशी नियोगलाई पर्यटक भिसा सेवा निलम्बन गर्न निर्देशन दिइएको थियो । सो अवधिमा अत्यावश्यक श्रेणीका भिसा मात्र जारी गरिएका थिए । भारतबाहेक सुरक्षा कारण देखाउँदै नेपाल र भुटान जस्ता देशका लागि पनि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो ।
समीक्षा पश्चात् अब सबै प्रकारका भिसा सेवा पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिए । यद्यपि बङ्गलादेशी नागरिकका लागि भारतीय पर्यटक भिसा सेवा भने अझै पनि पूर्ण रूपमा खुला भएको छैन । केही विशेष श्रेणीका भिसा मात्र जारी भइरहेका छन् ।
प्राध्यापक मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारको अवधिमा भारत-बङ्गलादेश सम्बन्धमा केही तनाव देखिएको थियो । तर फेब्रुअरी १२ को निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानले नेतृत्व सम्हाल्नु भएपछि द्विपक्षीय सम्बन्ध सुधारतर्फ उन्मुख भएको सङ्केत देखिएको छ ।
नयाँ मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहमा भारतीय लोकसभाका सभामुख ओम बिरलाको नेतृत्वमा उच्चस्तरीय भारतीय प्रतिनिधिमण्डलले सहभागी भई प्रधानमन्त्रीसँग भेटवार्ता गरेको थियो । पछिल्लो कदमलाई दुवै देशबिचको सम्बन्ध सुदृढ पार्ने सङ्केतका रूपमा हेरिएको छ । रासस/एएनआई