• १० फागुन २०८२, आइतबार

हिमालयन डुओ चेसमा सान्टा जेभियरलाई सफलता

blog

चेसमा उपाधि विजेता खेलाडी ।

काठमाडौँ, फागुन १० गते । अभिक शाह र अनिश प्रसाईको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ ।

भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा सम्पन्न प्रतियोगिताको फाइनलमा इलाम हाइटलाई पराजित गर्दै सफलता हात पारेको हो । ‘बगहाउस फम्र्याट’ मा सञ्चालित प्रतियोगिता पाँच चरणमा लिगका शीर्ष चार टिमले उपाधि होडमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए ।

लिगमा १९४८ रेटेड अभिक नेतृत्वको सान्टा जेभियरले शतप्रतिशत जितसहित शीर्षस्थान हासिल गर्‍यो । निहाना श्रेष्ठ र रिदम थापाको टिम मार्भलस चार जितसहित दोस्रो हुनुभयो । 

सुरेन्द्रकुमार राई र रवीन्द्र श्रेष्ठको टिम इलाम हाइट तेस्रोमा रह्यो । बराबरी अङ्कपछि त्रियोग हाई स्कुललाई प्ले–अफमा हराएर प्याट्रियटिक पनले पनि शीर्ष चारमा स्थान बनायो ।

तर, प्रवीर केसी र पर्ल श्रेष्ठसम्मिलित प्याट्रियटिक पनलाई सेमिफाइनलमा रोक्दै सान्टा जेभियर फाइनल पुगेको थियो । अर्को सेमिफाइनलमा होटल इलाम हाइटले टिम मार्भलसलाई पराजित गरेको थियो ।

हिमालयन चेस एकेडेमीद्वारा आयोजित एकदिने प्रतियोगितामा प्रत्येक टिममा फिडे रेटेड एक खेलाडीलाई मात्रै समावेश गरिएको थियो । परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई टिम निर्माणमा संलग्न गरिएको प्रतियोगिताको विजेता सान्टा जेभियरले सात हजार रुपियाँ, ट्रफी र मेडल हात पारे ।

उपविजेता होटल इलाम हाइटले पाँच हजार र मेडल तथा तेस्रो भएको टिम मार्भलसले तीन हजार रुपियाँ र मेडल पायो । हिमालयन चेस एकेडेमीको झक्तपुर शाखा रहेको योङ लर्नस् (रिडर्स हवसँगै रहेको) मा आयोजित प्रतियोगितामा १२ टिम सहभागी थिए ।