वासिङ्टन, फागुन १० गते । अमेरिकाका पूर्व सिआइए अधिकारी जोन किरियाकोउले आगामी हप्ताको सुरुमा इरानविरुद्ध सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भइसकेको दाबी गर्नु भएको छ । जुलियन डोरे पोडकास्टमा उहाँले ह्वाइट हाउसका एक जना पूर्व गुप्तचर अधिकारीको हवाला दिँदै प्रशासनले दिएको सार्वजनिक समय सीमा हुँदाहुँदै पनि आक्रमण सन्निकट हुन सक्ने बताउनुभयो ।
किरियाकोउले भन्नुभयो, “मेरो एक साथी, पूर्व सिआइए अधिकारी हुन्, जो आज बिहान ह्वाइट हाउसमा आफ्ना साथीसँग कुरा गरिरहेका थिए । उनी भन्छन् कि सोमबार वा मङ्गलबार इरानमा आक्रमण गर्ने निर्णय गरिएको छ ।” किरियाकोउका अनुसार राष्ट्रपतिले हिजो सार्वजनिक रूपमा इरानी नेतृत्वलाई १० दिनको समय दिनु भएको थियो, तर यस्तो समय सीमा प्रायः रणनीतिक विचलनको रूपमा प्रयोग गरिन्छ ।
यसैबिच, संयुक्त राज्य अमेरिकाले मध्यपूर्वका विभिन्न प्रतिष्ठानमा अज्ञात मिसनका लागि सैनिकको रणनीतिक स्थानान्तरण सुरु गरेको छ । द जेरुसेलम पोस्टका अनुसार, कतारको अल उदेद बेसबाट सयौँ सैनिक स्थानान्तरण गरिएको सङ्केत पाइएको छ । बहराइन, इराक, सिरिया, कुवेत, साउदी अरब, जोर्डन र संयुक्त अरब इमिरेट्समा पनि अमेरिकी सुविधामा यस्तै रसद परिवर्तन भएको पाइएको छ ।
सरकारी अधिकारीले यस क्षेत्रमा हाल तैनाथ ३० हजारदेखि ४० हजार अमेरिकी सैनिकले पूर्ण युद्धको स्थितिमा इरानको प्राथमिक लक्ष्यका रूपमा काम गर्न सक्ने आशङ्का व्यक्त गरेका छन् । सैन्य विज्ञले यस सम्भावित द्वन्द्वलाई सन् २०२५ मा अल उदेदमा भएको आक्रमण भन्दा फरक हुने बताएका छन्, जसमा इरानी अधिकारीले अमेरिकालाई अग्रिम सूचना दिएका थिए ।
इरानी पक्षले संयुक्त राष्ट्रसङ्घमा चेतावनी दिँदै अमेरिकी आक्रमणको अवस्थामा ‘यस क्षेत्रमा शत्रु शक्तिका सबै आधार, सुविधा र सम्पत्ति वैध लक्ष्य हुने’ चेतावनी दिएको छ । यी खतराको प्रकाशमा, अमेरिकाले आफ्नो सेनाको सुरक्षाका लागि मध्यपूर्वमा हवाई रक्षा प्रणाली स्थानान्तरण गर्दै दुई विमानवाहक महत्त्वपूर्ण दूरीमा राख्ने निर्णय गरेको छ ।
पूर्व सिआइए अधिकारीले अमेरिकी प्रशासनभित्र आन्तरिक राजनीतिक विभाजन र हस्तक्षेप समर्थक तथा विरोधी गुटको अवस्थाबारे पनि टिप्पणी गर्नु भएको छ । युद्ध विरोधी गुटमा जेडी भान्स र तुलसी गबार्ड हुनुहुन्छ भने युद्ध समर्थक गुट मार्को रुबियोको नेतृत्वमा रहेको छ । यसैबिच, ट्रम्प प्रशासनले विगत १२ महिनामा सबै संयुक्त प्रमुखलाई प्रतिस्थापन गरेर राजनीतिक रूपमा वफादार व्यक्तिलाई बढावा दिएको उहाँले जानकारी दिनुभयो ।
हालैको सरकारी खुलासा र युएफओ सम्बन्धित कागजातको प्रत्याशित सार्वजनिक घोषणालाई पनि सम्भावित विचलनका रूपमा हेरिएको छ । किरियाकोउले भन्नुभयो, “सम्भवतः आंशिक रूपमा हो, उनीहरूले हिजो राति युएफओ फाइल जारी गर्न जाँदै छन् ।” रासस/एएनआई