सिराज खान
नेपालगन्ज, फागुन १० गते । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो डोजाङ्ग प्रतियोगिता २०८२ को उपाधि सुपरस्टार डोजाङ्गले जित्न सफल भएको छ । बाँकेको कोहलपुर नगरपालिका-१, कौशिलानगरस्थित सुपरस्टार डोजाङ्गले ६ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित १४ पदक जितेर प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
प्रतियोगितामा खजुरा गाउँपालिकास्थित जिगाउँ तेक्वान्दोले ३ स्वर्ण, ४ रजत र २ काश्य पदक गरेर ९ पदक जितेर द्धित्तीय स्थान प्राप्त गरेको छ । सोही प्रकारले प्रतियोगितामा कोहलपुरको पिपरीस्थित मदन नगर तेक्वान्दोले ३ स्वर्ण र ३ रजत गरेर ६ पदकसहित तृतीय स्थान प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा पुरुषतर्फ इशाक परियार र महिलातर्फ सविता थारू बेस्ट प्लेयर बन्न सफल रहनुभयो । विजेताहरूलाई कार्यक्रमका प्रमुख अथिति नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य श्रीमान थापा मगर, आयोजक आदर्श तेक्वान्दो डोजाङ्ग बाँकेका अध्यक्ष प्रकाश लामिछाने र जिल्ला खेलकुद विकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नुभयो ।
प्रतियोगितामा सहभागी २२ डोजाङ्गमध्ये शम्शेरगन्ज डोजाङ्गले २ स्वर्ण, ३ रजत र ५ काश्य, धम्बोझीले ३ स्वर्ण र २ काश्य, लाइट डोजाङ्गले १ स्वर्ण, भृकुटीले १ स्वर्ण र आदर्शले १ स्वर्ण जितेको सहआयोजक तेक्वान्दो डोजाङ्ग एन्ड स्पोर्टस क्लब नेपालगन्ज १७ का अध्यक्ष सञ्जय कुम्हारले जानकारी दिनुभयो ।
लामो समयदेखि नेपालगन्जमा कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो डोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा तीन सय बढी खेलाडी सहभागी भएका थिए ।