• १० फागुन २०८२, आइतबार

कालापानीमा स्वामित्व स्थापना गराउने प्रतिबद्धता

blog

खलङ्गा समाचारदाता

खलङ्गा (दार्चुला), फागुन १० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दार्चुलाका उम्मेदवार धर्मानन्द जोशीले दार्चुलाको समुन्नति, युवाको नेतृत्व, विश्वासको निरन्तरता र पाँचबर्से दृष्टिसहितको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ । 

एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएका कांग्रेस युवा नेता जोशीले शनिबार एक कार्यक्रमबिच जिल्लाको गोकुलेश्वरमा आफ्नो पाँचबर्से दृष्टिसहितको प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले जनताको विश्वास प्राप्त गरेका खण्डमा सुशासन, पारदर्शी, मागमा आधारित र युवा सहभागितामा जिल्लाका विकासका योजना तय तथा सञ्चालन गर्ने लक्ष्य रहने, दार्चुलावासीको समुन्नतिका लागि जनताको आवाज संसद्मा दृढ रूपमा उठाउने सीमा सुरक्षा र सम्मानको विषयमा स्पष्ट पहल गर्दै सङ्घीय बजेटमा दार्चुलाको हिस्सा सुनिश्चित गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

यस्तै समयसापेक्ष संविधान संशोधन, जनपक्षीय ऐन तथा कानुन निर्माण तथा कार्यान्वयनका लागि संसद् र संसदीय समितिमा सक्रिय भूमिका निभाउने प्रतिबद्धता पनि उहाँले गर्नुभएको छ । 

दार्चुला विकासको आधार, बलियो, दिगो र रणनीतिक पूर्वाधार अन्तर्गत त्रिदेशीय व्यापारको सम्भावनालाई साकार पार्न दार्चुला–तिङ्कर सडक निर्माणलाई प्राथमिकतासाथ सम्पन्न गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । साथै जिल्लाको आर्थिक मेरुदण्डका रूपमा रहेको महाकाली कोरिडोर तथा सीमाक्षेत्रका रणनीतिक सडकको निर्माण तथा चौलानी नदीमा दार्चुला–बैतडी जोड्ने धनथला पुल निर्माणलाई तीव्रता दिनेमा उहाँको जोड थियो । जिल्लाका सबै पालिका केन्द्रलाई पक्की सडकमार्फत जोड्न र राष्ट्रिय राजमार्ग स्तरोन्नतिका लागि आवश्यक बजेट सुनिश्चित गर्ने उहाँले घोषणापत्रमा उल्लेख गर्नुभएको छ । 

कांग्रेस उम्मेदवार जोशीले तिङ्कर नाका र असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुल तथा नेपालतर्फ एकीकृत जाँचचौकी सञ्चालनमा ल्याई व्यापार सहजीकरण, निर्यात वृद्धि, रोजगारी सिर्जना र सीमा व्यवस्थापन सुदृढ गर्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ । 

यसैबिच नेकपा (एमाले) दार्चुलाले पनि सात वटा प्रतिबद्धतासहित पाँचबर्से घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले सामाजिक सञ्जालमार्फत घोषणापत्र सार्वजनिक गरेको छ । दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना मत दिनुपर्ने कारणसहितका बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरेको हो । 

एमाले दार्चुलाले राष्ट्रिय स्वाभिमानको रक्षा र मिचिएको भूमि कालापानी लिपुलेक र लिम्पियाधुरामा नेपालको स्वामित्व स्थापना गर्न लडाइँ जारी राख्ने, गोकुलेश्वर एयरपोर्ट सञ्चालन गर्न, जिल्लाभित्र सञ्चालित सानाठुला सडक यातायात, खानेपानी तथा सरसफाइ र सिँचाइ सुविधा उपलब्ध गराउने, ग्रामीण विद्युतीकरण र सञ्चार सुविधाबाट वञ्चित स्थानमा सेवा उपलब्ध गराउन पहल गर्ने जनाएको छ । 

शिक्षा, स्वास्थ्यलाई सर्वसुलभ गराउने, महाकाली कोरिडोर, तिङ्कर सडक र जिल्लाभित्र रहेका निर्माणाधीन, निर्माण गर्न बाँकी पुलपुलेसा तथा अधुरा रहेका पूर्वाधारका योजना पूरा गर्दै सडक स्तरोन्नतिमा विशेष जोड दिने, तिङ्कर नाकालाई व्यापारिक, पर्यटकीय र हिन्दु धर्मावलम्बीले कैलाशमान सरोवरसम्म यात्रा गर्न बाह्रै महिना सञ्चालन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।  दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि ११ दलका उम्मेदवारले उम्मेदवारी दिनुभएको छ । अन्य दलका उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुभएको छैन ।