रमेश विश्वकर्मा
गुल्मी, फागुन ९ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा चार लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
गत आइतबारदेखि शुक्रबारसम्म चार लाख ७४ हजार ७५० रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।
सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार राहदानी, संस्था नवीकरण र राष्ट्रिय परिचयपत्रबाट राजस्व सङ्कलन गरिएको हो।जसमा राहदानीबाट चार लाख ६५ हजार रुपियाँ, संस्था दर्ता नवीकरणबाट ७५० रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट नौ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।
पछिल्लो एक हप्ता हातहतियार नवीकरण तथा नामसारी भएको छैन। यस समयावधिमा जिल्ला प्रशासन कार्यालयबाट वैवाहिक अङ्गीकृत नागरिकता एकसहित ८६ जनाले नयाँ नागरिकता लिनुभएको उहाँले जानकारी दिनुभयो।
६४ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। एक हप्तामा नाबालक परिचयपत्र चार जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन ९३ र राहदानी वितरण ११७ जनाको गरिएको छ।
त्यसैगरी राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन २००, राष्ट्रिय परिचयपत्र वितरण १९७, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित १८ जनाको गरिएको छ। यो साता एक संस्था नवीकरण गरिएको छ।
प्रशासनले एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले विगतदेखि नै सार्वजनिक गर्दै आएको छ।