• ९ फागुन २०८२, शनिबार

अध्यक्ष ओली दमकमा, निजी क्षेत्रसँग आज अन्तरसंवाद

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दमकमा । फाइल तस्बिर

गोरखापत्र अनलाइन

झापा, फागुन ९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज दमकमा निजी क्षेत्रसँग अन्तरसंवाद गर्ने हुनेभएको छ । निर्वाचन क्षेत्र झापा ५ को दमकमा दिउँसो ३ बजे अन्तरक्रिया हुन लागेको उहाँको सचिवालयले जनाएको छ ।  

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजनामा हुने कार्यक्रममा दुईवटा प्यानल डिस्कसन राखिएको छ । हिसानका अध्यक्ष युवराज शर्माका अनुसार “नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली” विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ । अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको शर्माले जानकारी दिनुभयो । 

निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, उर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालको सम्भावना र चुनौतीका विषयमा छलफल गरिनेछ। प्यानल छलफलमा हिसानका पूर्व अध्यक्ष रमेशकुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की, आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं सहभागी हुनुहुनेछ। 

प्यानलमा सहभागी वक्ताहरुले आफ्नो क्षेत्रको तत्कालीन र दीर्घकालिन समस्या र समाधानको उपाय, नीतिगत अवरोधहरु र नयाँ सरकारसँगका अपेक्षा राख्नेछन् ।

यसैगरी जेन जेड र निजी क्षेत्रको सम्बन्धका बारेमा पनि छलफल हुने शर्माले बताउनुभयो । उहाँका अनुसार प्यानल छलफलमा उठेका जिज्ञासा, नीतिगत अवरोध र देशले अंगालेको नीजी क्षेत्रसम्बन्धी नीतिका बारेमा अध्यक्ष ओलीले आफ्ना भनाइहरु राख्नु हुनेछ । कार्यक्रम दमक चोकस्थित गोरखा डिपार्टमेन्टको सगरमाथा हलमा आयोजना गरिएको छ।