कविराज घिमिरे
हिले, फागुन ९ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) धनकुटाका उम्मेदवार आइतराज लिम्बुले आफ्नो घोषणा पत्र सार्वजनिक गर्नुभएको छ। धनकुटामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजनाहरू समावेश गरिएको घोषणा पत्र प्रस्तुत गर्नुभयो।
उहाँले कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै बाँदर, बँदेल लगायत वन्यजन्तुबाट हुने बाली नोक्सानी रोक्न कानुनी नियन्त्रणको व्यवस्था गरिने उल्लेख गरिएको छ।
खेलकुद र पर्यटन प्रवर्धनका लागि जिल्लामा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ जस्ता साहसिक खेल सञ्चालन गर्ने र प्रत्येक पालिकामा व्यवस्थित खेलमैदान निर्माण गर्ने योजना पनि अघि सारिएको छ। उद्योगतर्फ, स्थानीय सीप र स्रोतमा आधारित औद्योगिक ग्राम स्थापना गरी स्वरोजगारको वातावरण सिर्जना गर्ने, १०० शय्याको मेडिकल कलेज स्थापना, एक हजार सिट क्षमताको सभाहल निर्माण र धनकुटालाई शिक्षा केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।
आन्दोलन, पूर्वाधार, पर्यटन, सांस्कृतिक संरक्षण, खानेपानी, सिँचाइ र कृषि विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसैगरी धनकुटाको समग्र विकासका लागि संघीय नीति निर्माण तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने, कोशी प्रदेशको नामकरण, स्थानीय जातीय तथा भाषिक समुदायको अधिकार र संरक्षणका विषय उठाउने प्रतिवद्धता पनि घोषणा पत्रमा समावेश गरिएको छ।
किराँत–आठपहरिया समुदायको ऐतिहासिक स्थल संरक्षण, भाषा प्रवद्र्धन र सांस्कृतिक क्षेत्रको विकासका कार्यक्रम पनि अघि सारिएको छ। जनता समाजवादी पार्टी नेपालका समानुपातिक उम्मेदवार रकम चेम्जोङले समग्र धनकुटाको विकासका लागि यी योजना अघि सारिएको बताउनुभयो।