प्रवीणकुमार शर्मा
रौतहट, फागुन ९ गते । प्रतिनिधि सभा निर्वाचनका लागि १२ दिन बाँकी रहँदा रौतहट क्षेत्र नं. ४ मा चुनावी गतिविधि तीव्र बनेको छ ।
उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्दै मतदाताको घरघरमा पुग्न थालेसँगै चुनावी माहोल तातिरहेको छ । क्षेत्रका ३० वटै वडामा उम्मेदवार र स्वतन्त्र उम्मेदवारले घरदैलो तथा कोणसभाको माध्यमबाट मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको व्यस्तता अझ बढिरहेको छ।
रौतहट क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेको बताउनुभएको छ । उहाँ आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गर्न व्यस्त हुनुहुन्छ, चन्द्रपुर–५ का पुजा झाले बताउनुभयो।
पौडेलको समर्थनको मुख्य आधार उहाँको शैक्षिक योग्यता र समाजप्रतिको योगदान रहेको बताइएको छ । रौतहटमै जन्मी हुर्किएको, स्थायी रूपमा बसोबास गर्ने र यहाँको सामाजिक, शैक्षिक तथा आर्थिक वास्तविकतालाई नजिकबाट बुझ्ने पौडेलको नीति, योजना तथा युवा क्षमता विकास र संस्थागत मजबुतीप्रति रुचिका कारण मतदातामा उहाँको लोकप्रियता उच्च रहेको चन्द्रपुर–५ का झाले बताउनुभयो।
मतदाताले रौतहट–४मा भावनात्मक भाषणभन्दा नीति, योजना र इमान्दार व्यक्तित्व भएको उम्मेदवारको आवश्यकतालाई ध्यानमा राख्दै पौडेललाई समर्थन गर्ने धारणा राखेको उल्लेख गरिएको छ। उहाँ अवसरवादी राजनीतिज्ञ नभई सेवा–केन्द्रित व्यक्तिको रूपमा काम गर्ने उम्मेदवार भएको पनि मतदाताले बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलसहित अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो तथा कोणसभामा तीव्रता दिएका छन्।