• ९ फागुन २०८२, शनिबार

एमालेको झण्डा जलाउने घटनामा थप दुई पक्राउ

blog

लीलाधर वली 
घोराही, फागुन ९ गते ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाइएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–४, हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर उप–महानगरपालिका–६, गाइडर निवासी २४ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बोहराले जानकारी दिनुभएको छ ।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका थिए। हालसम्म तीन जना पक्राउ परिसकेको भन्दै अन्यको खोजी कार्य भइरहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सुर्खेतबाट दाङ आउने क्रममा फागुन ७ गते विहीवार साँझ तुलसीपुरको बिपी चोकमा एमालेको चुनाव चिन्ह अंकित झण्डा चलाउनका साथै नारावाजी गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी कार्य समेत जारी रहेको प्रहरीले जानकारी दिएको छ ।