रवीन्द्र उप्रेती
बर्दिबास, फागुन ९ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा महोत्तरीमा मतदानस्थल अनुगमन र सुरक्षा परिचालन तीव्र पारिएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण मानिँदै आएको यस जिल्लामा सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
भारतको बिहार राज्यअन्तर्गत सीतामढी र मधुबनी जिल्लासँग करिब ३९ किलोमिटर खुला सीमा जोडिएको महोत्तरीमा सीमा पारिबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणलाई मुख्य चुनौतीका रूपमा लिइएको छ ।
जिल्लामा कायम २५८ मतदानस्थलमध्ये ६३ प्रतिशत अर्थात् १६३ स्थल अतिसंवेदनशील, ३४ प्रतिशत अर्थात् ८९ स्थल संवेदनशील र २ प्रतिशत अर्थात् ६ स्थल सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सोही आधारमा सुरक्षाकर्मी परिचालन, निगरानी तथा गस्ती व्यवस्थापन गरिएको समितिले जनाएको छ ।
महोत्तरीका १५ वटै स्थानीय तहका मतदानस्थलको भौतिक संरचना, भौगोलिक अवस्थिति, सुरक्षा संवेदनशीलता, विद्युत्, खानेपानी, शौचालयलगायत आधारभूत सुविधाबारे सूक्ष्म अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी इन्दुदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गराउने लक्ष्यसहित सबै मतदानस्थल तयारी अवस्थामा राखिएका छन् ।
प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो, “२५८ वटै मतदानस्थल तयारी अवस्थामा छन् । सबै ठाउँमा सुरक्षा निगरानी बढाइएको छ । सडक मार्ग सुरक्षित पाइएकाले फागुनको तेस्रो सातादेखि मतपेटिका र मतदान सामग्री ढुवानी गर्ने तालिका मिलाइएको छ ।”
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन भारतीय समकक्षीसँग बैठकहरू भइरहेका छन् । पुस २४ गते रौतहटको चन्द्रनिगाहपुरमा सीतामढी जिल्लाका अधिकारीहरूसँग सुरक्षा बैठक सम्पन्न भइसकेको छ । मधुबनी जिल्लासँग जनकपुरमा सीमा सुरक्षा बैठक गर्ने तयारी गरिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवसहित मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी उपरीक्षकद्वय शेरबहादुर अधिकारी र हेरम्ब शर्मा, जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा तथा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमलगायतको टोलीले दक्षिणी सीमादेखि खयरमाराको विकट डाँडाछोड्केसम्मका मतदानस्थलको अनुगमन गरेको हो ।
यसअघि निर्वाचनको वातावरण निर्माण गर्न जिल्लाका चारै निर्वाचन क्षेत्रमा राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि तथा नागरिक समाजसँग समन्वयात्मक अन्तरक्रिया गोष्ठी आयोजना गरी निर्वाचन लक्षित विविध विषयमा छलफल गरिएको थियो ।प्रमुख जिल्ला अधिकारी यादवले संयुक्त सुरक्षा परिचालन र सीमा समन्वयमार्फत निर्वाचन सुरक्षालाई थप सशक्त र भरपर्दो बनाइएको दाबी गर्नुभयो ।