ललित बसेल
सुर्खेत, फागुन ९ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सुर्खेतमा विभिन्न दलका उम्मेदवारले केन्द्रीय नेतृत्वलाई लिएर प्रचारप्रसार अभियान थालेका छन् । मुख्य गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीले आफ्ना केन्द्रीय नेता तथा स्थानीय तह, प्रदेश सभा सदस्य तथा निवर्तमान सांसदलाई साथमा लिएर मतदातासँग घरैदैलो, कोणसभा गर्दै मत मागेका छन् ।
केन्द्रीय नेतृत्व तथा पदमा आसीनलाई लिएर मत माग्नेमा नेकपा (एमाले) देखिएको छ । नेकपा (एमाले) बाट सुर्खेत–२ का उम्मेदवार कुलमणि देवकोटासँगै कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सचिव यामलाल कँडेल खटिनुभएको छ । मुख्यमन्त्री कँडेलले निर्वाचन आयोगमा सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी प्रचारप्रसार गर्न अनुमति लिनुभएको थियो । फागुन ४ देखि दलले प्रचारप्रसार गर्न पाउने भएपछि मुख्यमन्त्री कँडेल उम्मेदवार देवकोटासँगै वीरेन्द्रनगरका विभिन्न स्थानमा आयोजना गरिएका कोणसभा तथा घरदैलो कार्यक्रममा सँगै जानुभएको छ । पूर्वमन्त्री तथा केन्द्रीय सदस्य नवराज रावत, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख तथा केन्द्रीय सदस्य मोहनमाया ढकाल, नगर उपप्रमुख नीलकण्ठ खनाललगायत पनि उम्मेदवारसँग प्रचारप्रसारमा सक्रिय देखिनुभएको छ । मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सचिव तथा अन्य केन्द्रीय नेतृत्व पनि प्रचारप्रसारमा गएर मतदातासँग घरदैलो गरेपछि नेकपा (एमाले) उत्साहित भएको छ । घरदैलो, कोणसभामा उम्मेदवारसँगै केन्द्रीय नेता पनि उपस्थित भएपछि आफ्नो पक्षमा मत आउने दाबी पार्टीको छ ।
नेपाली कांग्रेस पनि आफ्नो केन्द्रीय नेतृत्वलाई अगाडि लगाएर उम्मेदवार प्रचारप्रसारमा सक्रिय भएको छ । सुर्खेत–२ मा कांग्रेस उम्मेदवार नारायण कोइरालासँग पार्टीका केन्द्रीय सदस्य तीर्थजङ्ग शाही, केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभा सदस्य जानकी सिंह, पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीलगायतका नेता पनि गाउँबस्तीमा प्रचारप्रचार अभियानमा लाग्नुभएको छ । यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका नेता हृदयराम थानी गत सोमबारदेखि उम्मेदवारसँगै प्रचार अभियानमा खटिनुभएको हो । शारीरिक अस्वस्थताले सुरुदेखि नै सक्रिय नभए पनि तीन दिन अघिदेखि उहाँले पनि मत माग्न प्रचारप्रसार अभियानमा थाल्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना केन्द्रीय नेतृत्व सुर्खेत आएका बखत गाउँबस्तीबाट मत मागिरहेको छ । बिहीबार सुर्खेतमा आयोजित सभामा रास्वपाका केन्द्रीय उपाध्यक्ष डिपी अर्यालले सडकनजिकका बस्तीमा पुगेर प्रचारप्रसार गर्नुभएको थियो । साथै घण्टाघरमा आयोजित कार्यक्रममा केन्द्रीय सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले मत मागेर कार्यकर्तामा उत्साह भर्नुभएको थियो । नेपाली कम्युनिस्ट पार्टीले पनि केन्द्रीय नेतृत्व, प्रदेश सभा सदस्यलगायतलाई परिचालन गरेर चुनावी प्रचारप्रसार अभियान थप सशक्त बनाएको छ ।
नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले केन्द्रीय नेतृत्व पनि प्रचारप्रसारमा आएपछि मतदातालाई ऊर्जा प्राप्त भएको बताउनुभयो । उहाँले अब पार्टीले आयोजना गर्ने प्रचारात्मक कार्यक्रम, आमसभामा पनि केन्द्रीय नेतृत्वलगायतको उपस्थिति रहने र यसले पार्टीलाई मतदान गर्नतर्फ प्रेरणा दिने उल्लेख गर्नुभयो । नेकपा (एमाले) सुर्खेतका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाले पार्टीको प्रचार अभियानमा आचारसंहिताभित्र रहेर पार्टीको केन्द्रीय नेतृत्व पनि सरिक भएको बताउनुभयो ।