• ९ फागुन २०८२, शनिबार

बलराका पूर्व नगरप्रमुख सिंह कांग्रेसमा प्रवेश

blog

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बलराका पूर्व नगरप्रमुख अभयकुमार सिंहलगायतलाई पार्टी प्रवेश गराउनुहुँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन ८ गते ।
सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिकाका पूर्व नगरप्रमुख अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार राति बलरामै कांग्रेसका सभापति एवम् सर्लाही ४ का उम्मेदवार गगनकुमार थापाले सिंहसहित अन्य नेता, कार्यकर्तालाई कांग्रेसमा भित्र्याउनुभएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नगरप्रमुखमा निर्वाचित सिंह २०७९ मा पनि नगरप्रमुखको प्रत्यासी हुनुहुन्थ्यो ।

बलरामा लोसपाको शीर्ष नेता रहनुभएका सिंह आफ्ना केही समर्थकसहित कांग्रेसमा प्रवेश गर्नुभएको नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो । केही दिनअघि संविधान सभा सदस्य एवम् लोसपाका वरिष्ठ उपाध्यक्ष हरिनन्दन चौधरी, लोपसाका महासचिव मनिष मिश्रलगायत लोसपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

यो पटक सर्लाही ४ मा अधिकांश नेताहरुले पार्टी परिवर्तन गरेका छन् । आफ्ना छोराले टिकट नपाएपछि संविधान सभा सदस्य शिवपुजन राय यादवले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छाडेर नेकपा एमालेमा प्रवेश गरी छोरा अमनिसकुमार यादवलाई उम्मेदवार बनाउनुभएको छ ।

यादवसँगै बलराका निर्वाचित नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवलगायत पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । निवर्तमान प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।