भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन ९ गते । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई पूर्णरूपमा आचारसंहिता पालना गर्न अनुरोध गरेको छ । सो कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कार्यरत सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको हो ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लक्ष्मण गिरीले कुनै राजनीतिक दल वा उम्मेदवारहरूको पक्ष वा विपक्षमा प्रचारप्रसार नगर्न आग्रह गर्नुभयो । त्यसैगरी, कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसार गर्न नहुने सूचनामा उल्लेख छ ।
शिक्षक तथा विद्यालय कर्मचारीहरूले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका सामग्री राख्न, टाँस्न नहुने तथा सामाजिक सञ्जालमा प्रसारप्रसार केन्द्रित पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याक वा मेन्सन जस्ता कार्य नगर्न नहुने एकाइले अनुरोध गरेको छ ।
साथै, सामाजिक सञ्जाल तथा अन्य निकायबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको देखिएमा जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिबाट नियमानुसारको कारबाही हुने बेहोरा समेत जानकारीका लागि एकाइले अनुरोध गरेको छ ।