प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), फागुन ९ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नं. ३ मा ८२० जना कर्मचारी खटिएका छन् । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं. ३ कटहरियाका अनुसार मतदान केन्द्रमा मतदान अधिकृत एक जना, सहायक मतदान अधिकृत एक जना, सहयोगी कर्मचारी तीन जना र कार्यालय सहयोगी एक जनाका दरले मतदान केन्द्रमा कर्मचारी खटाइएको हो ।
केबलराम सुरत बहुमुखी क्याम्पस सिमरा भवानीपुर र साबिक बगही गाविस भवन मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक, एक जना सहयोगी कर्मचारी दुई जना र कार्यालय सहयोगी एक जनाका दरले कर्मचारी खटाइएको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं. ३, कटहरियाका निर्वाचन अधिकृत अबध किशोरप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
उहाँका अनुसार १३७ वटा मतदान केन्द्रमा १३७ जना मतदान अधिकृत, १३७ जना सहायक मतदान अधिकृत, ४०९ जना सहयोगी कर्मचारी र १३७ जना कार्यालय सहयोगी खटिएका छन् । उहाँका अनुसार समानुपातिक र पारदर्शी तरिकाले कर्मचारी खटाइएको छ । रौतहट–३ मा ७७ वटा मतदान स्थल तथा १३७ वटा मतदान केन्द्र रहेका छन् । पुरुष मतदाता ५९ हजार ९६९, महिला मतदाता ४८ हजार ७३० र तेस्रो लिङ्गी मतदाता एक गरी जम्मा एक लाख आठ हजार ६९९ मतदाता रौतहट क्षेत्र नं. ३ मा रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटका अन्य निर्वाचन क्षेत्रमा मतदानमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको नाम सार्वजनिक भए पनि खटिने सहायक कर्मचारी र कार्यालय सहयोगीको नाम सार्वजनिक गरिएको छैन ।