• ९ फागुन २०८२, शनिबार

निर्वाचन माहोलले बढायो भक्काको व्यापार

blog

दमक समाचारदाता

दमक, फागुन ९ गते  । निर्वाचनको दिन नजिकिँदै गर्दा झापाका सहर बजारमा चुनावी सरगर्मी बढेसँगै भक्काको व्यापार पनि बढेको छ । बिहान सबेरैदेखि सडकछेउ, खुला आकाशमुनि भक्का पकाउने र बेच्ने महिलाको भिड लाग्ने गर्छ । विशेष गरी दमक, बिर्तामोड, भद्रपुरलगायतका मुख्य चोक, बसपार्क र बजार आसपासका स्थानमा भक्का खान झुमिएकाको चुनावी छलफल र धारणा सुन्दा पनि उत्तिकै रोचक छ । काममा निस्कने मजदुर, बिहानै हिँड्ने व्यापारी, चुनावी भेटघाटमा जुटेका कार्यकर्ता सबैको पहिलो रोजाइ प्रायः भक्कै हुने गरेको छ । चुनावकै लागि बाहिरबाट घर फर्किएका युवा, गाउँटोलमा गफगाफ गर्न भेला हुने समूह र पार्टीका कार्यकर्तालाई बिहानैदेखि भक्काको तातो बाफ र स्वादिलो अचारले आकर्षित गरिरहेको हुन्छ । 

व्यवसायी अग्नि राजवंशी भन्नुहुन्छ, “बिहान ५ बजेदेखि तयारी गर्छौं । ६ बजेदेखि भटाभट ग्राहक आउन थाल्छन् । कहिलेकाहीँ त दिएर भ्याउनै गाह्रो पर्छ । २०५५ सालदेखि भक्का बिक्री गर्दै आउनुभएका राजवंशी पछिल्लो समयमा दैनिक तीन हजार रुपियाँसम्म कमाइ हुने गरेको बताउनुहुन्छ । 

पहिला थोरै जना महिला भक्का पकाउन आउने गरेको भए पनि अहिले धेरै जना आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले मानिस समूह बनाएर भक्का खान आउने गर्छन् । भक्कामा रमाउँदासम्म उनीहरू आगामी निर्वाचनका विषयमै छलफल र धारणा राख्ने गर्छन् ।” 

यस वर्षदेखि दमककी रिङ्कु भारती पनि भक्का बिक्री गर्दै आउनुभएको छ । उहाँ बिहान भक्का र बेलुका मकै पोलेर बेच्ने गर्नुहुन्छ । दमकको मुख्य गणतन्त्र चोकनजिक उहाँ सडकको एक किनारमा बिहानैदेखि बस्नुहुन्छ । आफूलाई राजनीतिमा खासै मतलब नभएको तर धेरै जसो आएर राजनीतिक गफ गर्ने गरेको भारतीले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “नियमित रूपमा आउने ग्राहक धेरै हुन्छन् । निर्वाचन नजिकिँदै गर्दा नयाँ ग्राहक पनि थपिएका छन् ।” उहाँ ग्राहकको चाहना अनुसार चिनी हालेर वा बिनाचिनीको भक्का बनाउने गरेको बताउनुहन्छ । 

यहाँ करिब पाँच सयभन्दा बढी महिला भक्का व्यवसायमा संलग्न रहेको बताइन्छ । सरदरमा एक जनाले दैनिक दुई हजार रुपियाँसम्मको कारोबार गर्ने गर्छन् । चुनावी चहलपहलले यो आम्दानी बढाएकाले यसमा संलग्न महिला व्यवसायी बताउँछन् । यसैबाट उनीहरूले घरखर्च धानिरहेका छन् । झापामा उखानै चल्ने गरेको छ, ‘झापाको भक्का, जाडोमा पक्का ।’ पछिल्लो समयमा गर्मीमा पनि भक्का व्यापार हुने गरेको छ । पहिला भक्का खान जाडो पर्खनु पथ्याे भने केही वर्षयता भक्का जुनसुकै समयमा पनि पाइन्छ । बिहानको हल्का चिसो मौसम र चुनावी माहोल एकै पटक परेकाले यस वर्ष भक्काको व्यापार दोब्बर जस्तै भएको व्यवसायीको भनाइ छ ।

निर्वाचनले राजनीतिक परिणाम जे ल्याए पनि, बिहान ५ बजेदेखि सडक किनारमा उठ्ने भक्काको बाफले झापाको अर्थतन्त्रको सानो तर महत्त्वपूर्ण पाटोलाई भने मज्जाले तताइरहेको छ । जिल्लाका विभिन्न ठाउँमा भक्काको आकार अनुसार प्रतिगोटा १० देखि २० रुपियाँसम्म पर्ने गरेको छ ।

भक्का राजवंशी समुदायको मुख्य परिकार भए पनि अहिले यो सबैको साझा परिकार बन्दै गएको छ । झापामा आदिवासी अगुवाको पहलमा भक्का दिवससमेत मनाइँदै आएको छ ।