केशवराज भट्ट
वाशुलिङ बैतडी, फागुन ९ गते । बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा शुक्रबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी नायब निरीक्षक सुरज सिंहका अनुसार बछलाबाट बचरा तर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज. ००६९ नम्बरको जिप राति करिब ११ बजेतिर सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनामा परी जिप चालक २६ वर्षीय केशव सिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।
मृतकको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ । आजै पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
दुर्घटनाका कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण भित्री सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रहरी प्रशासनले आग्रह गरेको छ ।