विष्णुप्रसाद पोखरेल
दमक, फागुन ९ गते । हरेक निर्वाचनमा चुनावी नारा बन्ने गरेको झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमी जोड्ने ३३ किलोमिटर लामो फाल्गुनन्द मार्ग निर्माण सुरु भएको साढे तीन दशक बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक निर्माण अलपत्र पर्दा यस विषयमा राजनीतिक दल र उम्मेदवारहरूलाई मतदातालाई जवाफ दिन सकस हुने गरेको छ । पर्याप्त बजेट विनियोजन हुँदाहुँदै पनि सडक निर्माण सम्पन्न हुन नसकेको जनाइएको छ । झापा, इलाम र पाँचथरका उम्मेदवारहरूले प्रत्येक निर्वाचनमा यो सडकलाई प्राथमिकतामा राख्दै आएका छन् ।
दमकदेखि माङसेबुङ गाउँपालिका हुँदै चिसापानी पञ्चमी जोड्ने यो सडक झापा, इलाम र पाँचथरका नागरिकका लागि महत्त्वपूर्ण पहुँच मार्ग हो । कृषि उत्पादन बजारसम्म पुर्याउने, दैनिक आवतजावत सहज बनाउने तथा पहाड–तराई जोड्ने रणनीतिक सडकका रूपमा हेरिएको यो मार्ग रतुवा नदीको किनारैकिनार ट्र्याक खोलेर निर्माणाधीन अवस्थामा छ ।
यो सडक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक र स्वर्गीय पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ जोड्ने मार्गका रूपमा समेत परिचित छ । अहिले पनि यो सडक निर्माण पूरा गर्नु उम्मेदवारहरूको प्रमुख मुद्दा बनेको छ ।
सडक डिभिजन कार्यालयका प्रमुख श्यामकुमार यादवका अनुसार ३३ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो । पहिलो खण्डअन्तर्गत दमकको जिरोप्वाइन्टदेखि सात किलोमिटर कालोपत्रे गर्ने जिम्मा महालक्ष्मी–किरातेश्वर जेभीले २०७५ साउन २९ गते ३० महिनाभित्र सक्ने गरी २२ करोड ५९ लाख ६४ हजार रुपियाँमा लिएको थियो । तर चार पटक म्याद थप्दा पनि काम पूरा हुन सकेको छैन । हाल जरिवानासहित उक्त खण्डमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
दोस्रो (१५ किमी) र तेस्रो (११ किमी) खण्डको ठेक्का लुम्बिनी–गणपति जेभीले २०७६ फागुन २ गते क्रमशः ५४ करोड ४४ लाख ८७ हजार र ५९ करोड १५ लाख ३५ हजार रुपियाँमा लिएको थियो । दुवै खण्डको म्याद २०७९ फागुनमै सकिए पनि दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रोमा २८ प्रतिशत मात्र काम सम्पन्न भएको थियो ।
ठेकेदार कम्पनीले काम नगरेपछि २०८० फागुनमा ठेक्का रद्द गरी बैँक ग्यारेन्टी जफत गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । पर्याप्त बजेट सुनिश्चित हुँदाहुँदै पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम प्रभावित भएको प्रमुख यादवको भनाइ छ । निर्माण व्यवसायीले पाटन उच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले सडक डिभिजन कार्यालयकै पक्षमा फैसला गरेको उहाँले बताउनुभयो ।
इलामको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईका अनुसार हाल सडकमा सवारी साधन नियमित रूपमा सञ्चालन भइरहे पनि पूर्ण स्तरोन्नति हुन सकेको छैन । वर्षायाममा आवतजावत गर्न निकै कठिन हुने गरेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीसँग पटक–पटक छलफल भए पनि उल्लेख्य प्रगति हुन नसकेको उहाँको भनाइ छ ।
दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंका अनुसार सडक कालोपत्रे भएपछि दमकको व्यापारमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । यसले पहाडी जिल्लाका किसानको उत्पादन सहज रूपमा बजारमा ल्याउन मद्दत पुग्ने र समग्र आर्थिक गतिविधि बढ्ने उहाँले बताउनुभयो ।
२०४९ सालमा डा. गोपाल कोइरालाको नेतृत्वमा प्रारम्भ गरिएको फाल्गुनन्द मार्ग अझै अधुरै रहँदा स्थानीयवासी आक्रोशित छन् । “चुनावी मुद्दामात्र बन्ने गरेको छ,” स्थानीय सजन राईले भन्नुभयो, “यो सडक निर्माण भए पूर्वी पहाडी जिल्लाको उत्पादन तराईसम्म ल्याउन सहज हुन्थ्यो।”