• ९ फागुन २०८२, शनिबार

रूपन्देही–३ : एउटै वडाबाट छ जना उम्मेदवार

blog

भैरहवा समाचारदाता

भैरहवा, फागुन ९ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देही क्षेत्र नम्बर ३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ३६ जनामध्ये छ जना उम्मेदवार सिद्धार्थनगर नगरपालिका–९ का बासिन्दा हुनुहुन्छ । 

रूपन्देही–३ मा १९ राजनीतिक दल तथा १७ स्वतन्त्र गरी कुल ३६ जना चुनावी मैदानमा हुनुहुन्छ । एउटै वडाबाट उम्मेदवार बन्नेमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का फैज अहमद खाँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजङ्ग थापा, आमजनता पार्टीका राधेश्याम तेली गुप्ता, राष्ट्रिय जनमोर्चाका बद्रे आलम मुसलमान, राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अली मुसलमान र स्वतन्त्र उम्मेदवार करम हुसेन खाँ रहनुभएको छ । नेकपाका फैज अहमद खाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट सिद्धार्थनगर नगरपालिकाका प्रमुख पदका उम्मेदवार हुनुहुन्थ्यो । रास्वपाका उम्मेदवार डा. लेखजङ्ग थापा वरिष्ठ न्युरोलोजिस्ट हुनुहुन्छ । 

२०७९ सालमा यसै क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराको निधनपछि रिक्त भएको पदमा उपनिर्वाचनको तयारी गरिएको थियो । २०८२ कात्तिक १७ गतेका लागि तय गरिएको उक्त उपनिर्वाचनमा रास्वपाले थापालाई नै उम्मेदवार बनाएको थियो तर प्रतिनिधि सभाको नयाँ निर्वाचन मिति घोषणा भएसँगै उपनिर्वाचन कार्यक्रम रद्द गरिएको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अली मुसलमान भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पूर्वसभापति तथा पार्टीका केन्द्रीय सचिव हुनुहुन्छ । सिद्धार्थनगर–९, मेउडीहवाका का स्थानीय मतदाता रामप्रसाद यादवले एउटै वडाबाट छ जना उम्मेदवार उठ्नु सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वडामा राजनीतिक सक्रियता देखिएको छ । अब योग्य र विकासप्रति प्रतिबद्ध उम्मेदवारलाई मत दिने छौँ ।” त्यस्तै अर्की सोही ठाउँकी स्थानीय मतदाता सविता मुसलमानले उम्मेदवार धेरै भए पनि काम गर्ने क्षमता र इमानदारिता हेरेर निर्णय गर्ने बताउनुभयो । एउटै वडाका धेरै मतदाता भएपछि मत पनि तीव्रै विभाजित हुने देखिएको छ ।

नेकपाका उम्मेदवार फैज अहमद खाँले एउटै वडाबाट धेरै उम्मेदवार उठ्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिस्पर्धा स्वस्थ भए मात्र जनताको मतको सम्मान हुन्छ । म विकास र सुशासनको एजेन्डासहित मैदानमा छु ।” रास्वपाका डा. लेखजङ्ग थापाले सबै एउटै समुदायका भए पनि प्रतिस्पर्धा विचार र कार्ययोजनाको भएको बताउनुभयो । 

यस क्षेत्रमा प्रमुख दलहरूबाट पनि प्रभावशाली उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसबाट सुशील गुरुङ, नेकपा (एमाले) बाट वासुदेव घिमिरे, राप्रपाबाट गौरव बोहरा, जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट श्रीनिवास यादव र जनमत पार्टीबाट विशाल गुप्ता उम्मेदवार बन्नुभएको छ । यद्यपि जसपाका उम्मेदवार यादवले एमाले उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने घोषणा गर्दै आफू प्रतिस्पर्धामा नरहेको बताउनुभएको छ ।

अघिल्लो निर्वाचन २०७९ मा यस क्षेत्रबाट राप्रपाका दीपक बोहरा एमालेको समर्थनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्नुभएको थियो ।

२०७४ मा यहाँबाट एमालेका घनश्याम भुसाल, २०७० मा राप्रपाका दीपक बोहरा र २०६४ मा मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव (गुल्जारी) निर्वाचित हुनुभएको थियो । रूपन्देही–३ मा ७१ हजार २५८ पुरुष, ६८ हजार ७७५ महिला र दुई अन्य गरी कुल एक लाख ४० हजार ३५ जना मतदाता छन् ।