लीलाराज खड्का
बिर्तामोड, फागुन ९ गते । झापा क्षेत्र नं. १ मा चुनावी रौनक दिनदिनै बढ्दै गइरहेको छ । यो नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जितेको क्षेत्र हो । उहाँले यस पटक आफू चुनाव नलडेर आफ्नो ठाउँमा झापा कांग्रेसका उपसभापति केशवराज पाण्डेलाई उठाउनुभएको छ । त्यसले गर्दा सो क्षेत्रमा झन् चुनावी रौनक बढेको छ ।
नेपाली कांग्रेससहित यहाँका प्रमुख राजनीतिक दल यतिबेला भुइँ तहसम्म सङ्गठन चलायमान बनाउन मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् । भारतसँग सीमा जोडिएको यस निर्वाचन क्षेत्रमा यस पटक १३ राजनीतिक दलका र दुई जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्र्टी, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यस पटकको निर्वाचनमा कुनै पनि पार्टीले गठबन्धन नगरी उम्मेदवारी परेकाले यस पटकको निर्वाचनमा जनमतको परीक्षण हुने विश्वास लिएको छ । कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले फागुन ४ गतेदेखि नै औपचारिक रूपमा प्रचारप्रसारका कार्यक्रम सुरु गरिएको बताउनुभयो । उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीसँगै देश बदल्ने धारणा र योजना बोकेका कारण पार्टीप्रति मतदाताकोे आकर्षण बढिरहेको दाबी गर्नुभयो । यता एमालेले स्थानीय बौद्धिक र लामो समयसम्म सहकारीको अध्यक्षसमेत रहेका रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीका अनुसार पार्टीले अहिले वडास्तरीय अगुवा कार्यकर्ता भेला र निर्वाचन परिचालन समिति निर्माण सकेर घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । गाउँबस्तीमा विकास र समृद्धिको अभियानमा एमाले नै चाहिन्छ भन्ने जनताको बुझाइ रहेको कार्कीको दाबी छ । नेकपाले सञ्चारकर्मी अशेष घिमिरेलाई उम्मेदवार बनाएको छ ।
नेकपाका मेचीनगर अध्यक्ष राजन चिमरियाले अहिलेको चुनावलाई जनतामाथि थपिएको ऋणको भारका रूपमा व्याख्या गर्दै जनताको घरदैलोमा मत मागिरहेको बताउनुभयो । हाल जनताका समस्या बुझ्ने र राजनीतिक परिस्थितिबारे बुझाउने काममा पार्टीका नेता कार्यकर्ता व्यस्त रहेको र चुनावी प्रचारप्रसारलाई तीव्र बनाइरहेको चिमरियाले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस क्षेत्रमा पूर्वसांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । रास्वपा नेता ऋषि तिम्सिनाका अनुसार पार्टीले अहिले वडा वडाबाट सुझाव सङ्कलन गरी ‘वाचापत्र’ तयार गरिएको र जनताको घरदैलोमा प्रचारप्रसारको कामलाई तीव्र बनाएको बताउनुभयो । मतदाताले पुराना दलबाट भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरिरहेकाले भ्रष्टाचार उन्मूलन र सुशासनलाई नै रास्वपाले मुख्य चुनावी ‘एजेन्डा’ बनाएको तिम्सिनाको भनाइ छ ।
राप्रपाबाट युवा उम्मेदवाार हेमराज कार्कीलाई चुनावमा उठाएको छ । राप्रपा केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले ठुला दलप्रति जनताको वितृष्णा बढ्दो रहेकाले राप्रपालाई जनताले विकल्पका रूपमा हेरेको बताउनुभयो । यस क्षेत्रमा श्रम संस्कृति पार्टीबाट केवलराम राई, मङ्गोल नेसनल पार्टीका तर्फबाट सन्तोष तामाङ, उज्यालो नेपाल पार्टीका तर्फबाट नरेशकुमार लावतीलगायतले समेत उल्लेख्य मत ल्याउने दाबी गरिएको छ । निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल एक लाख ३१ हजार ६७ मतदाता रहेका छन् । झापा–१ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नं. गरी चार वडा र भद्रपुर नगरपालिकाका ९ र १० गरी दुई वडा समेटिएको छ । यहाँ ४३ मतदान स्थल र १४५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका रामबहादुर कार्कीले कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मालाई पराजित गर्नुभएको थियो । २०७९ उपसभापतिले शर्माले एमाले उम्मेदवार अग्नि खरेललाई पराजित गर्नुभएको थियो ।