• ९ फागुन २०८२, शनिबार

झापा–२ मा बहुआयामिक प्रतिस्पर्धा : रोजगारीदेखि स्वास्थ्य र सुशासनसम्म प्रमुख मुद्दा

blog

विष्णुप्रसाद पोखरेल
दमक, फागुन ९ गते ।
 यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा–२ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । बिहानको झिसमिसे उज्यालोसँगै गाउँ–टोल, चियापसल, भक्का पाइने स्थल, चौतारो र बजारका गल्लीहरूमा निर्वाचनकै चर्चा चल्ने गरेको पाइन्छ ।

उम्मेदवारहरूले अघि सारेका रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र सुशासनका मुद्दाबारे मतदाताले छलफल थालेका छन् । “प्रतिबद्धता त सबैले गर्छन्, तर पूरा गर्दैनन्,” शान्तिनगरका विकास दर्जीले भन्नुभयो, “हाम्रो घरमा अरुबेला आएर कहिल्यै पनि पीरमार्का कसैले बुझेका छैनन्।”

यही निर्वाचन क्षेत्रको बुधबारेमा भेटिएका अर्का एक मतदाता पनि यसपटक कसलाई मत दिने भन्नेमा दोधारमा देखिनुभयो । “सबैका प्रतिबद्धतापत्र हेर्दा राम्रो लाग्छ, सबैको कुरा सुन्दा मत दिऊँ जस्तो लाग्छ, तर कसलाई दिने भन्नेमा अन्योलमै छु,” ५५ वर्षीय भवानी रिजालले सुनाउनुभयो ।

यसपटक प्रत्यक्षतर्फ यहाँ प्रभावशाली तथा विगतमा मन्त्री र सांसद भइसकेका महिला उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन् । यसले महिलाहरूको मत विभाजित हुने आँकलन गरिएको छ । “एकजना मात्र महिला उम्मेदवार भएको भए रोज्न सजिलो हुने थियो, तर सबै उस्तै बोल्न र गर्न सक्ने देखिन्छन्,” चारपानेकी रञ्जना शिवाकोटीले भन्नुभयो ।

यस क्षेत्रमा मतदाताको साझा चासो रोजगारी, कृषि उत्पादनको उचित मूल्य, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा नै देखिन्छ । स्थानीय स्तरमा अवसर नपाएर र आयआर्जनको माध्यम नहुँदा युवा विदेशिन बाध्य हुनु, किसानले कृषि उपजको उचित मूल्य नपाउनु र आधारभूत सेवामा सहज पहुँच नहुनु मतदाताको प्रमुख गुनासो रहेको छ ।

भ्रष्टाचार बढेको र यसमा राजनीतिक दलका नेताहरूले संरक्षण गरेको आरोप पनि युवा मतदाताबाट सुनिन्छ । सामाजिक सञ्जालमा भनाइहरू भाइरल हुने र गालीगलौज हुने भएकाले खुलेर बोल्न नसक्ने अवस्था रहेको उनीहरूको भनाइ छ । “आफ्ना विचार राख्दा पनि अश्लील गाली खानुपर्छ,” बिर्तामोडका सिजन प्रशाईंले भन्नुभयो ।

यस क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसबाट पूर्वमन्त्री सरिता प्रसाईं, नेकपाबाट संविधानसभा सदस्य धर्मशिला चापागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल र स्वतन्त्र उम्मेदवारका रूपमा डा. युवराज संग्रौला प्रतिस्पर्धामा छन् ।

घिमिरेले “अधुरा विकास पूरा गर्ने” नारासहित मत मागिरहेका छन् । सडक, पुल, खानेपानी, सिँचाइ र सहरी पूर्वाधारको निरन्तरतासँगै कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण र औद्योगिक क्षेत्र विस्तार उहाँका प्राथमिकतामा छन् । “विगत तीन वर्षमा गरेको काम मतदाताले देख्नुभएको छ,” घिमिरेले भन्नुभयो । अनुभव बिना नीति कार्यान्वयन सम्भव नहुने भएकाले आफूले त्यसबारे मतदातालाई बुझाउँदै आएको उहाँको भनाइ छ ।

रास्वपाकी उम्मेदवार रानामगरले पुराना दलहरूप्रतिको असन्तुष्टिलाई परिवर्तनको अवसरका रूपमा लिएर मत मागिरहनुभएको छ । सुशासन, पारदर्शिता र समावेशी प्रतिनिधित्व उहाँका प्रमुख एजेन्डा हुन् । महिला, दलित, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिको आवाज संसद्मा बलियो बनाउने प्रतिबद्धता उहाँले विभिन्न कार्यक्रममा व्यक्त गर्दै आउनुभएको छ ।

नेपाली कांग्रेसकी नेतृ प्रसाईंले सामाजिक विकास र लोकतान्त्रिक आधार सुदृढ बनाउन मतदातासँग मत माग्दै आउनुभएको छ । स्थानीय समस्याबारे जानकार रहेको दाबी गर्दै उहाँले यसपटक बदलिएको कांग्रेसलाई जनताले विश्वास गर्ने बताउनुभयो ।

नेकपाकी उम्मेदवार चापागाईंले सामाजिक न्याय, श्रमिक अधिकार र सीमान्तकृत समुदायको सशक्तीकरणलाई मुख्य एजेन्डा बनाउनुभएको छ । भूमिहीन, सुकुम्बासी र मजदुरका मुद्दा उठाउँदै कृषि सहकारी र सामुदायिक स्वामित्वका कार्यक्रम अघि बढाउने प्रतिबद्धता उहाँको छ । महिला उम्मेदवारहरूले महिला सशक्तीकरणलाई पनि प्रमुख प्रतिबद्धतामा समावेश गरेका छन् ।

राप्रपाका उम्मेदवार नेपालले धर्म, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गर्दै हिन्दू राज्यको बहस र सङ्घीय संरचनाको पुनरावलोकन आवश्यक रहेको बताउँदै मत मागिरहनुभएको छ । धार्मिक पर्यटन प्रवर्धन र स्थानीय संस्कृतिमा आधारित रोजगारी सिर्जना उहाँका प्राथमिकतामा छन् ।
निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल १ लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । तीमध्ये पुरुष ७३ हजार ५२० (५०.१३ प्रतिशत), महिला ७३ हजार ७६७ (४९.८७ प्रतिशत) र अन्य पाँच जना रहेका छन् ।