कुनै समाज, जाति वा राष्ट्रको जीवनशैली, मूल्यमान्यता, परम्परा, भाषा, धर्म, कला, साहित्य, रीतिरिवाज, चालचलन, ज्ञान, आस्था, र व्यवहारको समुच्चयलाई संस्कृति भनेर बुझिन्छ । समाज र त्यहाँका मानिस फूलबारी र फूलका बोट हुन् भने संस्कृति फूलका रूप रङसहितका बासना हुन् । यो मानव सभ्यताको विकासक्रममा समयसँगै निर्माण भएका सामाजिक संरचना हो, जसले व्यक्तिको सोच, व्यवहार र सामाजिक सम्बन्धलाई निर्देशित गर्छ । सामाजिक संरचनाको अभिन्न अङ्ग भएकाले संस्कृतिसँगै सामाजिक व्यवहारको ढाँचा निर्धारण हुन्छ । संस्कृति केवल भौतिक वस्तुहरूमा सीमित हुँदैन । यसमा विचार, मूल्य, भाषा र परम्परा पनि समावेश हुन्छन् । यसर्थ संस्कृति समाजको ऐना हो । संस्कृतिविद्ले समाजको ऐतिहासिक विकास, मानव व्यवहार र सामाजिक संरचनाबिचमा सम्बन्ध हुने तथ्यसमेत उल्लेख गरेका छन् ।
बहिरा संस्कृति
सञ्चार माध्यमको प्रमुख भाषाको रूपमा साङ्केतिक भाषा प्रयोग गर्ने वा साङ्केतिक भाषालाई प्राथमिक भाषाको रूपमा अवलम्बन गर्ने सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्ति वा साङ्केतिक भाषी परिवार र त्यसबाट प्रभावित सामाजिक परिवेश अन्तर्गत विश्वास, मूल्यमान्यता, आचरण, कला, भाषा र इतिहासको रूपमा स्थापित पहिचानलाई नै बहिरा संस्कृति भनिन्छ । भाषिक सञ्चारका लागि व्यक्त गर्ने प्रस्तोता अनि ग्रहण गर्ने दोस्रो पक्षले सकेसम्म बढी बुझाउन र बुझ्न सक्ने गरी प्राकृतिक, अनौपचारिक र औपचारिक तरिकाले दृश्य भाषा (साङ्केतिक भाषा) को रूपमा प्रयोग हुँदाको समष्टिगत व्यवहारले बहिरा संस्कृतिलाई प्रतिविम्बित गर्छ । बहिरा संस्कृति केवल भाषासँग मात्र सम्बन्धित छैन, यो त बहिरा व्यक्तिहरूको जीवनको सम्पूर्ण दृष्टिकोण हो । उनीहरूको शिक्षा, सञ्चार, सामाजिक सहभागिता, व्यवहार र मनोरञ्जन प्रणालीको छुट्टै ढङ्गले विकास हुन्छ । बहिरा संस्कृतिमा यी सबै प्रतिविम्बित हुने र आपसी सहयोग, सामुदायिक भावना, आत्मनिर्भरता र समानताको उच्च मूल्य पाइने हुनाले बहिरा समुदायले यसमा गर्व गर्छन् ।
बहिरा संस्कृति सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिले व्यक्तिगत, पारिवारिक, सामाजिक जीवन निर्वाह गर्ने क्रममा निर्माण गरेको विरासत हो, जसले उनीहरूको पहिचान र जीवनलाई परिभाषित गर्छ । यो संस्कृतिमा आत्मसम्मान पारस्पारिक सहयोग र सामुदायिक भावना निकै महत्त्वपूर्ण रूपमा गाँजिएको हुन्छ । आमजनमानसद्वारा बहिरा संस्कृतिलाई अझै पनि व्यापक रूपमा बुझ्न सकिएको छैन । धेरै पहिले कतिपय समाज र समाजभित्रका अभिभावकले बहिरा बालबालिकालाई पनि साङ्केतिक भाषा सिक्न र समाजमा निस्कन नदिने चलन पनि थियो, जुन उनीहरूको मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र पहिचानमाथिको प्रहार हुन्थ्यो तर हिजोआजका दिनमा त्यसो नभई केही सकारात्मक सूचकहरू देखा पर्न थालेका छन् ।
बहिरा संस्कृति हामीले जानेबुझेको सामान्य संस्कृतिभन्दा फरक गुण र विशेषतायुक्त हुन्छ । यसमा साङ्केतिक भाषाद्वारा प्रभावित रहनसहन, चालचलन तथा व्यवहारले दिने बहिराहरूको मनोवैज्ञानिक पक्षसमेत संस्कृति बनेर रहेको हुन्छ । यस्तो संस्कृतिमा बहिराहरूको सोच, भावना र पहिचान मुखरित हुँदै आएको पाइन्छ । पूर्ण सञ्चारको पहुँचमा आँखाबाट सम्पर्क गर्ने, अनुहार तथा शारीरिक भाषा अन्तर्गत ध्यानाकर्षण गर्नका लागि हात हल्लाउने, काँध वा पाखुरामा थपथपाउने, कुनै साङ्केतिक वस्तु देखाउने वा चलाउने, बत्ती बाल्ने निभाउने गर्ने, खुट्टा भुइँमा हल्लाउने वा बजार्ने, तेस्रो व्यक्तिको प्रयोग गरेर कसैको ध्यानाकर्षण गर्ने जस्ता सांस्कृतिक रीतहरू हुन्छन् । बहिरा सङ्घ संस्थामा भेटघाट गर्ने, सामूहिक सहकार्य गर्ने, वर्ग उत्थानका कार्यक्रम संयोजन गर्ने जस्ता सामाजिक मूल्यमान्यता अवलम्बन गर्नु पनि बहिरा संस्कृतिका विशेषता हुन् । यो संस्कृति सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिले समयक्रममा निर्माण गरेको एक समृद्ध र विशिष्ट सांस्कृतिक प्रणाली हो । यसको मूल आधार साङ्केतिक भाषा हो, जुन हातको इसारा, अनुहारको हाउभाउ, मुखका आकृति, शरीरको गति प्रयोग गरेर सञ्चार गरिन्छ । यस्ता कुरा बुँदागतभन्दा पनि भूमिका बाँधेर विभिन्न छोटा तथा चुट्किला साङ्केतिक पाराले पनि अभिव्यक्त हुने गर्छन् । खास गरी बहिरा र बहिराको बिचमा हुने संवाद, छलफल अन्तक्रिया यसका ज्वलन्त उदाहरण हुन् ।
समावेशी शिक्षामा बहिरा संस्कृति
सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा छात्रछात्रा अध्ययन गर्ने बहिरा विद्यालय बहिरा संस्कृतिको आधार क्षेत्र हुन् । बहिरा विशेष विद्यालयमा अघोषित वा प्राकृतिक रूपमा नै साङ्केतिक भाषाको प्रयोग तथा प्रभाव रहन्छ । विद्यालयमा प्रयोग गरिने पाठ्यक्रममा बहिरा संस्कृतिको विषयलाई स्थानीय पाठ्यक्रम अन्तर्गत राखेर व्यवस्था गर्न सकिन्छ । यस्ता विषयमा बहिरा अग्रज, योगदानदाता, बहिराहरूका ऐतिहासिक कार्यहरू, बहिरा वर्गको समग्र अधिकार सम्पन्न गर्न परिवार र समाजदेखि राज्य सरकारसम्म गरिएका सङ्घर्षका घटना तथा उपलब्धि हुन सक्छन् । बहिरा संस्कृतिको संवेदनशीलतालाई दृष्टिगत गरेर शिक्षण विधि र बहिरा संस्कृति अनुकूल भाषाको प्रयोग गर्नु विद्यालय र त्यहाँका शिक्षकको स्वधर्म हुन्छ । साङ्केतिक भाषाका दोभाषे र बहिरा शिक्षणमा संलग्न शिक्षकलाई तालिम दिएर बहिरा संस्कृतिलाई निखारिएको सबल सक्षम साथै परिपक्व बनाउनु अनिवार्य हुन्छ । बहिराको छाता सङ्गठन राष्ट्रिय बहिरा सहासङ्घ नेपाललगायत बहिरा सङ्घ संस्था र नेपाल सरकार तथा सरोकारवाला निकायले यसबारे पहलकदमी र चासो दिनु पर्छ । सरकारका तर्फबाट बहिरा संस्कृतिलाई समावेश गर्न स्पष्ट नीति बनाई स्थानीय तहमा समेत बहिरा शिक्षा प्रवर्धनका लागि विशेष कार्यक्रम दिन सकिन्छ । त्यसका लागि साङ्केतिक भाषाका दोभाषे र बहिरा शिक्षणमा संलग्न शिक्षकलाई उपयोग गर्नु वाञ्छनीय हुन्छ ।
समृद्ध कसरी ?
सुनाइसम्बन्धी अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने विशेष तथा समावेशी सामुदायिक विद्यालयमा सञ्चालक र त्यहाँका शिक्षक कर्मचारीलाई तालिममा बहिरा सांस्कृतिक संवेदनशीलताका विषय बुझाउने र प्रयोगमा ल्याउनका लागि प्रेरणा दिने गर्नु पर्छ । मिडिया र विभिन्न कलाका माध्यमबाट पनि यस संस्कृतिको सुनिश्चितता बढाउन सकिन्छ । जस्तै ः बहिरा पात्रहरू समावेश गरिएका चलचित्र/नाटकले यसमा प्रभावकारिता थप्न सक्छ । सार्वजनिक कार्यक्रम जस्तै : अपाङ्गता दिवस, साङ्केतिक भाषा दिवस जस्ता अवसरमा महोत्सव आयोजना गरेर पनि यी विषयलाई प्रोत्साहन दिन सकिन्छ । सानो क्षेत्र भए पनि बहिरा व्यक्तिको परिवारभित्र साङ्केतिक भाषाको प्रभावकारी प्रयोग गर्न अभिभावकलाई साङ्केतिक भाषा सिकाउने र समुदायमा पनि सामुदायिक नेतृत्वमा रहेका व्यक्ति विशेषलाई वा सामाजिक कार्यकर्ता र नीतिनिर्मातालाई पनि यसबारे जानकारीमूलक प्रशिक्षण तथा साङ्केतिक भाषाको तालिम दिनु उपयुक्त हुन्छ । सञ्चारका विद्युतीय उपकरणमा डिजिटल सामग्रीका माध्यमबाट पनि बहिरा संस्कृति अनुकूल हुने गरी एप र वेबसाइटहरू राखेर नेपाली साङ्केतिक भाषा शब्दकोश, बहिरा संस्कृतिको इतिहास, तालिम र सिकाइका क्रियाकलाप समेटिएका विभिन्न सामग्री समाविष्ट गर्न सकिन्छ । त्यस्तै गरी युट्युब च्यानल र सामाजिक सञ्जालमार्फत बहिरा व्यक्तिले आफ्ना अनुभव र संस्कृति साझा गरेर बहिरा संस्कृतिको उन्नतिमा सहयोगी पुग्न सक्छ । संविधान र कानुनद्वारा प्रदत्त सूचना तथा सञ्चारको हक अधिकारभित्र रहेर बहिरा सांस्कृतिक अधिकारको सुनिश्चितता गर्न सकेमा र सरकारी नीतिमा बहिरा दृष्टिकोण समावेश गरी बहिरालाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा बहिरामैत्री दृष्टिकोण समावेश गर्नु सान्दर्भिक तथा महत्त्वपूर्ण हुन आउँछ । यस्तो अवस्थामा बहिरा समुदायले केवल अनुकूलन होइन, अधिकारसहितको जीवन जिउन सक्छन् ।
बहिरा संस्कृति कस्तो हुन्छ ?
विकसित बहिरा संस्कृतिमा बहिरा समुदायले आफ्नै भाषिक सञ्चार कला र सामाजिक संरचना विकास गरेका हुन्छन् । त्यहाँ यो संस्कृति समृद्ध, सशक्त र पहिचानयुक्त अवस्थामा सम्मानित रूपमा समावेशी हुन्छ । संस्थागत रूपमा नै बाहिरा सङ्घ संस्था, विद्यालय र विश्वविद्यालयमा सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिलाई औपचारिक साथै व्यावसायिक शिक्षा दिइन्छ । सरकारीस्तरबाट नीति नियममा बहिरा व्यक्तिको अधिकार सुनिश्चित गरेर साङ्केतिक भाषालाई मान्यता दिइएको हुन्छ । रोजगारीमा पहुँच र न्यायिक प्रणालीमा दोभाषेको सेवा अनिवार्य गरिएको हुनु अर्को महत्वपूर्ण पक्ष हो । बहिरा समुदायले आफ्नै सांस्कृतिक कार्यक्रम, ‘फेस्टिभल थिएटर’ जस्ता गतिविधिको आयोजना गरेर बहिरा कलाकार, लेखक तथा नेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिँदै यसमार्फत बहिरा संस्कृतिलाई सर्वसाधारणमा पुर्याउन सक्छन् । सूचनाको आदानप्रदान गर्दा साङ्केतिक भाषाको प्रयोगले उनीहरूको संस्कृतिमा विशेष पहिचान बनाएको हुन्छ । बहिरा व्यक्तिले आफ्ना अनुभव, सङ्घर्ष र सिर्जनशीलता सङ्केतिक भाषामार्फत अभिव्यक्त गर्छन् र समुदायमा आत्मप्रकाश अनि सामाजिक सहभागिताको अवसर सदुपयोग गर्छन् । विकसित बहिरा संस्कृतियुक्त वातावरणमा विद्यालय, परिवार र समाजमा बहिरा संस्कृतिको सम्मानजनक प्रयोगका लागि समावेशी कायम गरिन्छ । समाजको विविधताभित्र फरक फरक स्वरूपमा बहिरा संस्कृतिको पहिचान र प्रवर्धन हुने समावेशी समाजको झल्को दिइएको हुन्छ, जहाँ एक अर्काबिचको विविधतालाई सम्मान गर्ने परम्पराको विकास हुन्छ ।
सकारात्मक पक्ष
बहिरा संस्कृतिको विश्लेषण गर्न समाजमा यसले पारेका सकारात्मक र नकारात्मक पक्षहरूलाई बुझ्नु आवश्यक हुन्छ । यस विषयलाई सकारात्मक आँखाले हेरेर विश्लेषण गर्दा र बहिरा संस्कृति तथा बहिरा समुदायको पहिचानको मूल आधार नै पूर्ण सञ्चारमा आधारित साङ्केतिक भाषा हो भनी ठम्याउन सकिन्छ । आपसी सहयोग, एकता र साझा मनोबलले बहिरा संस्कृतिभित्र छुट्टै संसारको क्षितिज चियाउन सकिन्छ । बहिरा समुदायभित्रको विशिष्ट सांस्कृतिक मूल्य र परम्परा एवं आत्मसम्मान र गर्वको स्रोत यसलाई मानिन्छ । समावेशी समाज, समावेशी शिक्षा बहिराको उत्थान र सशक्तीकरणका लागि साङ्केतिक भाषामा आधारित हुँदा बहिरामैत्री हुन गई त्यसको परिणाम पनि अवश्य सकारात्मक हुन्छ । यसमा बहिरा नेतृत्वकर्ता, बहिरा विद्यार्थीका शिक्षक र विद्यालयको अग्रणी भूमिका साथै विशेष महत्त्व र अर्थ रहन्छ किनभने उनीहरू नै यसका मुख्य संवाहक हुन् । बहिरा संस्कृतिभित्र ग्रहणीय पक्ष छन् तर यसको मर्मलाई बुझ्न नसकुन्जेल प्रश्नहरू उठ्ने मात्र हुन् । असमावेशी समाजमा बहिरा संस्कृतिलाई अलग र अल्प सङ्ख्यकको भनेर हेर्ने वातावरण, सामाजिक क्रियाकलापमा पहुँचको अभाव र असमानता तथा विषयको अपर्याप्त प्रचारका कारण नकारात्मक असर देख्न सकिएला तर नकारात्मक पक्ष कुनै पनि दृष्टिकोणबाट राख्न नहुने वा नमिल्ने र न्याय तथा अधिकारवादी धारबाट पनि अनुचित हुने भएकाले यसबारे चर्चा गर्नु असान्दर्भिक होला ।
निष्कर्ष
संस्कृति कुनै पनि समुदायको आत्मा हो । सुनाइसम्बन्धी समस्या भएका व्यक्तिको बहिरा संस्कृतिलाई बुझ्नु, सम्मान गर्नु, गर्व गर्नु र त्यसलाई स्वीकृति दिनु सबै मानव समुदायको दायित्व हो । समाजमा सबैलाई बराबरी अवसर दिन, समावेशी बनाउन र विविधतालाई सम्मान गर्न हामीले बहिरा संस्कृतिलाई आत्मासात् गर्नै पर्छ । सरकारले साङ्केतिक भाषालाई संविधानतः कानुनी मान्यता दिनुपर्ने र विद्यालय, अस्पताल, अदालत, प्रहरी, सरकारी कार्यालयमा साङ्केतिक भाषाले स्थान पाउने वातावरण बन्नु पर्छ । बहिराका शिक्षक र साङ्केतिक भाषाका दोभासेको सङ्ख्या बढाउनुका साथै साङ्केतिक सिप र स्तरवृद्धि गर्नु पर्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा साङ्केतिक भाषाका साथ बहिरा संस्कृतिको सम्प्रेषण हुनु पर्छ । बहिरा व्यक्ति पनि हाम्रो समाजका पूर्ण र सक्रिय सदस्य भएकाले उनीहरूको भाषा, संस्कार र पहिचानलाई स्थान दिँदा बहिरा संस्कृतिप्रति सच्चा सम्मान हुन्छ । बहिरा संस्कृतिलाई बहिरा समुदायको जीवन आधार बनाउने कुरा अत्यन्तै महत्त्वपूर्ण छ । यसले उनीहरूको पहिचान, आत्मसम्मान र सामाजिक समावेशीकरणलाई बलियो बनाउँछ । बहिरा संस्कृतिलाई बहिरा समुदायको मुख्य अस्तित्वको आधार मानेर समृद्धिका कुरा गर्दा यो केवल भाषा वा सञ्चारको कुरा मात्र नभई सम्पूर्ण जीवनशैली, मूल्य र जीवन दृष्टिकोणको सैद्धान्तिक र व्यावहारिक पक्ष र पाटाहरूको समुच्च हो भनेर स्पष्ट हुन सकिन्छ ।