• ९ फागुन २०८२, शनिबार

आयुर्वेदिक औषधीको बढ्दो माग

blog

नेपालका तराई, पहाड र हिमालमा पाइने हरेक जातिका वनस्पतिमा कुनै न कुनै रोगको प्रतिरोध गर्न सक्ने औषधीय गुण हुन्छ । यस्ता लाखौँ प्राकृतिक स्रोतको उर्वर भूमि यहाँको भूखण्ड दक्षिण मोहडातर्फ ढल्किएको छ । झन्डै १४ घण्टासम्म पारिलो घाम लाग्ने हुँदा पनि यसलाई विश्वको सुन्दर बगैँचाको रूपमा बुझ्न सकिन्छ । हरेक १०० किलोमिटर दक्षिणबाट उत्तर यात्रा गर्दा हावापानी, वातावरण र तापक्रममा समेत फरक महसुस गर्न सकिन्छ । भौगोलिक सम्पदाका कारण पनि यहाँका औषधीजन्य वनस्पतिमा फरक फरक औषधीय गुण छ । पुस्तौँपुस्तादेखि नै यिनै वनस्पतिको औषधीय गुण र विशेषता पहिचान गरी तराई, पहाड, हिमाल सबैतिरका नागरिकले जनश्रुतिका आधारमा विगत पाँच हजार वर्षअघिदेखि प्रयोग गर्दै आइरहेको पाइन्छ । 

शाक्यमुनि भगवान् बुद्धकालीन युगमा यसको प्रचारप्रसार हुँदै आएको हो । अहिंसा परम धर्म हो भन्ने मान्यतासँगै जीवन सुखमय र स्वस्थ बनाउन वनस्पतिको पहिचान व्यापक भएको इतिहासमा उल्लेख भएको पाइन्छ । आयुर्वेद अनादिकालदेखि अनन्तसम्म चलिरहने सनातन प्रक्रिया हो । निघण्टु र आयुर्वेदको अन्योन्याश्रित सम्बन्ध रहेकाले यो अनादिदेखि अनन्तसम्म रहिरहने शास्त्र भए पनि यदाकदा मानवीय त्रुटिले यसप्रति अनावश्यक भ्रम पैदा हुन्छ । इतिहासका पछिल्ला कालखण्डमा धन्वन्तरी निघण्टु, राजनिघण्टु, कैयदेवनिघण्टु, मदनपाल निघण्टु, भावप्रकाशनीघण्टु आदि विभिन्न निघण्टुले १६ औँ शताब्दीसम्म आयुर्वेदलाई सम्पन्न तुल्याइरहे । १६ औँ शताब्दीपछि उल्लेखनीय निघण्टुको रचना भएको इतिहासले स्वीकार गरेको छैन । 

मल्लकालदेखि नेपालमा औषधी उत्पादन र क्रियाकर्मको सेवाप्रवाह दरबार वैद्यखानाको हैसियत या राजकीय औषधालयको हैसियतमा प्रचलित रह्यो । राणा प्रधानमन्त्री वीरशमशेरले निघण्टुका रूपमा वीरनिघण्टु बनाउन विद्वान्लाई अभिप्रेरित गरी लगाएको गुन बिस्र्यौं भने पुर्खाबाट भएका प्रयासप्रति हामी कृतघ्न भएको ठहरिने छ । वीरशमशेरको मृत्युपछि चन्द्रशमशेरको उदय भयो । वीरशमशेरको सुरुवातलाई विद्वान्का प्रेरणाले चन्द्रशमशेरको कार्यकालमा परिष्कार र परिमार्जन साथ चन्द्रनिघण्टुको प्रणयन भएको नेपाली निघण्टुका निघण्टुकार कोषनाथ देवकोटाले उल्लेख गरेका छन् । चन्द्रनिघण्टु नामकरण गरी भिन्नभिन्न भागमा छुट्याइ किताब सिलाइ जिल्ला बाँध्नू भनी चन्द्रशमशेरको आदेश भएपछि यसले चन्द्रनिघण्टु नाम पाएको हो । यो इतिहासकारले हो/होइन निक्र्योल गर्ने कुरा हो । पुर्खाले गरिदिएको कार्यबाट अहिले हामी १६ औँ शताब्दीपछिको उल्लेखनीय निघण्टुका रूपमा चन्द्रनिघण्टुलाई विश्वसामु प्रस्तुत गर्न पाएका छौँ, यो हाम्रा लागि गर्वको विषय हो । 

झन्डै तीन हजार वनस्पतिको उल्लेख गरेर हस्तलिखित पाण्डुलिपिका रूपमा टिपोट गर्ने घनानाथ पौडेल र साथीहरूको संलग्नतामा तयार पारिएको हस्तलिखितलाई चन्द्रशमशेरको प्रधानमन्त्रित्व कालमा चन्द्रघण्टु पुस्तकका रूपमा जनसमक्ष प्रकाशन भएको पाइन्छ । ती पुस्तकमा उल्लेख गरिएका औषधीजन्य वनस्पतिलाई आयुर्वेदीय औषधीका रूपमा उत्पादन र वितरण गर्ने उद्देश्यले १९०८ मा सिंहदरबार वैद्यखानाका रूपमा स्थापना भएको पाइन्छ । चन्द्रनिघण्टु पछिलो चरणमा सिंहदरबार वैद्यखानाबाट उत्पादित र विभिन्न रोगसँग लड्न सक्ने भएर आमनागरिक माझ ख्याति प्राप्त छ । पछिल्लो चरणमा यसको उत्पादन सीमित स्रोतसाधनबाट अपेक्षाकृत जनसमक्ष उत्पादन पु¥याउन सकिएको पाइँदैन । नागरिकले संरक्षण गरिराखेका यिनै जडीबुटी नेपालमा खपत नहुँदा निकै सस्तो मूल्यमा बाहिर वा तेस्रो मुलकमा निर्यात गर्नु परिरहेको छ । सिंहदरबार वैद्यखानाको स्रोतसाधन सम्पन्न बनाउन सके उत्पादन बढाउन सकिन्थ्यो । देशका सबै पालिकामा पाइने वनस्पति सिधै खरिद गर्ने प्रावधान बनाउन सके अझै उत्तम हुने थियो । आवश्यक जडीबुटी प्रशोधनसहित आपूर्ति भए थुपै्र कृषकले रोजगार पाउने थिए । 

वैद्यखानालाई आधुनिक बनाउन सकियो र आवश्यक जडीबुटी उपलब्ध गराउन सक्ने हो भने आयातित एलोप्याथिक औषधीको बाध्यात्मक प्रयोगलाई कम गर्न सकिने थियो । एलोप्याथिक औषधीले अन्य रोग पनि निम्त्याउने हुँदा हाम्रा परम्परागत उपचार पद्धति र यसको दिगो व्यवस्थापन आजको आवश्यकता बनेको छ । आधुनिक चिकित्सा विज्ञानले अवलम्बन गर्ने एलोप्याथिक चिकित्सा अन्तर्गत अस्पतालले बिरामी बाँच्ने कुनै विकल्प छैन भनेर पठाए पनि पशुपति क्षेत्रमा रहेको घाटे वैद्यको आयुर्वेदिक औषधीको उपचारबाट थप केही वर्ष बाँचेका धेरै उदाहरण छन् ।

यस वर्षको राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै गर्दा झन्डै करिब ३०–३२ लाख सामाजिक सुरक्षा भत्ताबापत वार्षिक १.४ खर्ब वितरण गरेको पाइन्छ । नेपालको सन्दर्भमा यसमा सरकारले ठुलो राशि खर्च गरेको पाइन्छ । यसलाई सुधार गरेर आवश्यकताको आधारमा घटी वा बढी वा मलाई आवश्यकता पर्दैन भन्नेहरूलाई पनि स्थानीय निकायमार्फत थप्न वा हटाउने सुविधा प्रदान गर्न जरुरी छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई महिनाको चार हजारको दरले १२ महिनाको ४८ हजार हुन्छ । यो सुविधामध्ये एक हजार मात्र घटाएर ४७ हजार दिन सकिने प्रावधान मिलाउँदा बचेको एक हजारबाट झन्डै तीन अर्ब वार्षिक रूपमा ज्येष्ठ नागरिक आशीर्वाद कोष खडा गर्न सकिन्छ । महिला तथा बालबालिका मन्त्रालयबाट समिति गठनसहित कोषका रूपमा आवश्यकता अनुरूप खर्च गराउन सकिन्छ । 

६० प्रतिशत ज्येष्ठ नागरिक दुर्गममा बस्छन् । उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य उपचार सुविधा सम्पन्न अस्पालतमा गएर गर्न कठिन हुन्छ । त्यही कोषबाट केही रकम सिंहदरबार वैद्यखानालाई जडीबुटी खोजबिन र उत्पादनमा दिन सकिन्छ । वैद्यखानाबाट वैद्य तथा कविराजको प्रत्यक्ष सहभागितामा टेली मेडिसिनमार्फत ज्येष्ठ नागरिकको उपचार गर्न सकिन्छ । कविराजको प्रेस्किप्सनका आधारमा स्थानीय तहमार्फत आवश्यक आयुर्वेदिक औषधी ज्येष्ठ नागरिकको घर घरमा पु¥याउने व्यवस्था गर्नु उत्तम हुने छ । छोरा नाति विदेश पलायन हुने क्रम बढेसँगै एक्लो जीवन बिताउन बाध्य ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारको जिम्मा स्थानीय तहले लिने व्यवस्था गर्दा सरकार भएको अनुभूति पनि हुने छ । ज्येष्ठ नागरिक प्रत्येक घर–टोलका अविभावक हुने हुँदा देशका प्रधानमन्त्रीले जस्तै चौतर्फी अध्ययन, चिन्तन र चासो राख्ने हो भने यो उपाय सहज पनि हुने छ । 

आफ्ना छोराबुहारी र नातिनातिना अध्ययनपछि रोजगारीमा लागेको सुन्दा सन्तोष मान्ने यी पुजनीय वर्गको आशीर्वाद कोषमा जम्मा हुने रकमको उपयोग सही रूपमा गर्न सके फलदायी हुन सक्छ । अहिले निःशुल्क वितरण भइरहेको एलोप्याथिक औषधी पनि सातै प्रदेशका सुविधा सम्पन्न अस्पतालबाट प्रेसिप्सनका आधारमा दिने व्यवस्थ मिलाउन सकिन्छ । काठमाडौँ उपत्यकामा उपचारका निम्ति आउनु हुनेहरूका लागि एक सय रोपनी जग्गाभित्र बन्ने सयौँ सुविधा सम्पन्न कोठामा एक सहयोगीसहित दुई महिनासम्म सम्बन्धित पालिकाको सिफारिसमा खान र बस्न मिल्ने स्थानको प्रबन्ध गर्ने गर्नुपर्ने प्रस्ताव नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले स्वास्थ्य मन्त्री सुधा शर्मासमक्ष पेस गरेको छ । 

यो प्रस्तावमाथि मन्त्रालयको ज्येष्ठ नागरिक महाशाखा हुँदै नीति व्यवस्था विभागमा छलफल भइरहेको छ । कार्यान्वयन हुन सके आमनागरिकलाई गुणस्तरीय औषधी निर्यात गर्न सकिने प्रतिबद्धता सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक र प्रशासन प्रमुखले गरेका छन् । आर्थिक सहयोग भन्दा ज्येष्ठ नागरिकलाई दीर्घ स्वास्थ जीवन जिउन सकिने यस अभियानलाई सकेसम्म आफ्नो कार्यकालमा अघि बढाउने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको प्रतिबद्धता पाएसँगै बाँकी प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलगायत सम्बन्धित सरोकारवाला निकायमा छलफल अगाडि बढाइएको छ । 

यो महìवाकाङ्क्षी योजना लागु गर्न सके फागुन २१ गतेको आमनिर्वाचनपछि बन्ने सरकारले युवापुस्ताले चाहे जस्तै रोजगारी पनि सिर्जना गर्न सकिने छ । यो अभियानलाई परिणाममुखी बनाउन जनतामा पुग्ने हरेक राजनीतिक दलले आफ्नो घोषणापत्रमा मात्र होइन प्रत्येक घरघरमा गएर प्रतिबद्धता जनाउनु पर्छ । सिंहदरबार वैद्यखानाको समुन्नति भए ज्येष्ठ नागरिक र अपाङ्गताको पनि स्वास्थ्य उपचार सुनिश्चित हुने छ । सरकारले बिमा शीर्षकमा चालु आर्थिक वर्षमा १० अर्ब रकम विनियोजन गरेको छ । बिमा दायित्व बढेर २४ अर्ब पुगेकाले सरकारले बिमाबापतको रकम समयमै उपलब्ध गराउन सकिरहेको छैन भने यसको विकल्पमा ज्येष्ठ नागरिकको भत्ताको केही रकम आयुर्वेदिक औषधी उत्पादन र प्रशोधनमा लगाउन सके बिमाको दायित्व कम भई रोजगारी समेत सिर्जना हुने छ ।