• ९ फागुन २०८२, शनिबार

दलहरूको प्राथमिकतामा पर्यटन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ९ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा नेपाल निर्माण गर्न पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि सारेका छन् । निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले सार्वजनिक गरेका घोषणापत्रमा पाँच वर्षभित्र पर्यटक आगमन र प्रतिव्यक्ति खर्चलाई दोब्बर बनाउने, कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत पुर्‍याउने, हवाईसेवा विस्तार, आन्तरिक हवाईसेवा सहज र सुरक्षित, सबै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनेलगायतका महत्वाकाङ्क्षी लक्ष्य राखेका छन् ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको १० वटा आधारमध्ये पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने, रोजगारी सिर्जना, पर्यटकीय पूर्वाधारको द्रुत विकासलगायतका प्रतिबद्धता अघि सारेको छ । 

“हाम्रो अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री हुने छ जसले अन्तर्राष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्ने छ । प्राकृतिक सम्पदा भावी पुस्ताका लागि सुरक्षित राख्दै नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौँ,” कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै नेकपा (एमाले) ले सार्वजनिक गरेको २५ वटा आधारमध्ये पर्यटनतर्फ नेपाललाई प्र्राकृतिक, धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनको गन्तव्यका रूपमा विश्व पर्यटन बजारमा ब्रान्डिङ गर्ने, पर्यटनको पूर्वाधार विकास, हवाईसेवा विस्तार, नयाँ गन्तव्यको विकास, भिसा तथा आन्तरिक उडान भाडादरमा पुनरवलोकन गरी पाँच वर्षमा पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य राखिएको छ ।

“पर्यटकको सुरक्षा पहिलो प्राथमिकता र अविस्मरणीय नेपाली सत्कारलाई मूल मन्त्र बनाएर पर्यटन सेवाको गुणस्तर वृद्धि गर्दै पर्यटकको बसाइ लम्ब्याउँछौँ । हवाई सेवाप्रदायकसँग सहकार्य गरेर हवाईसेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने छौँ,” एमालेको घोषणापत्रमा उल्लेख छ ।

नेपाली कम्युनिस्ट पार्टीले ल्याएको प्रतिबद्धतापत्रमा नेपाललाई आकर्षक, सुरक्षित र पहुँचयोग्य पर्यटन गन्तव्य बनाउने, स्थानीय रोजगारी सिर्जना र स्वदेशमै लगानी प्रवर्धन गर्नेलगायतका योजना सार्वजनिक गरेको छ ।

स्थानीय पर्यटन प्रोफाइल बनाउने, पर्यटकीय पूर्वाधार सुधार तथा निर्माण, सडक, यातायात, विमानस्थल र हवाईसेवामा सुधार गर्ने, भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गरिने छ,” नेकपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचापत्रमा नेपाल भित्रिने पर्यटक सङ्ख्या र प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत बसाइ लम्ब्याउन आवश्यक नीति कार्यान्वयन गर्ने, ट्रेकिङकेन्द्रित पर्यटनलाई विविधीकरण गर्ने, डिजिटल प्लेटफर्ममा एकीकृत गरी पर्यटकको समय, खर्च र झन्झट घटाउने, पर्वतीय पर्यटनमा सुधारलगायतका विकास नीति कार्यान्वयन गर्ने जनाइएको छ ।


“नेपाललाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्धनमा जोड दिने, नेपाल पर्यटन बोर्ड पुनर्गठित गरी नयाँ र सिर्जनात्मक मार्केटिङ, अनुभव सङ्कलन र प्रसारण, स्थानीय समुदायका आफ्ना पर्यटकीय उत्पादनलाई कथामार्फत बजारीकरण गर्ने छौँ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउने छौँ,” रास्वपाले वाचापत्रमा उल्लेख गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र, पार्टी, जनता समाजवादी पार्टी नेपाल, आमजनता पार्टीलगायतका राजनीतिक दलले सार्वजनिक गरेका घोषणापत्रमा नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, पर्यटनमैत्री नीति, एकद्वार प्रणालीको विकास र नेपालको उड्डयन क्षेत्रको विकासलाई प्राथमिकता दिएका छन् ।