हरि कोइराला/नवराज कट्टेल
उर्लाबारी (मोरङ), फागुन ९ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मिडिया र निर्वाचन आयोग एउटा सिक्काका दुई पाटा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले विराटनगरमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
२०७९ सालमा तत्कालीन सरकारले स्थानीय निर्वाचनको मिति पछाडि सार्न खोज्दाखोज्दै मिडियाको बलमा समयमा नै सम्पन्न भएको बताउँदै उहाँले मिडिया र सञ्चारजगत्ले आवधिक निर्वाचन गराउन आयोगलाई ऊर्जा प्रदान गरेको उल्लेख गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त भण्डारीले भदौ २७ गते राष्ट्रपतिले निर्वाचनको घोषणा गरेपछि मिडियाले नै चुनावका पक्षमा सकारात्मक वातावरण बनाइदिएको धारणा राख्नुभयो ।
निर्वाचन सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले यो पटक चुनावका विपक्षमा मिडियाले एउटा पनि नकारात्मक समाचार नलेखेर महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मौन अवधिमा राजनीतिक दलले मस्तिष्क मन्थन गर्ने हो तर त्यही बेला बढी चलखेल हुने गर्छ । निर्वाचन आयोगका दुई आँखाले त्यो चलखेल नदेख्ने भएकाले सञ्चारजगत्को तेस्रो आँखाले आयोगलाई सूचना दिएर सहयोग गर्नु पर्छ ।” २०४८ सालमा पुराना शक्तिलाई नयाँ शक्तिले निषेधको राजनीति गरेको संस्मरण गर्दै उहाँले यो चुनावमा कसैले पनि निषेधको राजनीति गर्न नपाउने बताउनुभयो ।
मत सर्वेक्षणका नाममा मतदाताको मतदातसम्बन्धी गोप्य अधिकार सार्वजनिक नगर्न आग्रह गर्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यसो गर्दा जित्नेले हार्न सक्ने र हार्नेले जित्न सक्ने उहाँको भनाइ थियो । ठुलो राजनीतिक घटनापछि भइरहेको यो निर्वाचन विगतका आवधिक निर्वाचन जस्तो नभएको र यो निर्वाचनलाई नेपालप्रति चासो राख्ने विश्व समुदायले हेरिरहेकाले निष्पक्ष निर्वाचनका लागि आमनागरिकको सहयोग आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।
लोकतान्त्रिक अनुशासन कायम
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशमा अनुशासन कायम राख्न आगामी निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा विराटनगरमा शुक्रबार आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले अहिलेको अवस्थामा निर्वाचन राष्ट्रिय आवश्यकता भएको स्पष्ट पार्नुभयो ।
उहाँले भदौ २३ र २४ गतेको विद्रोहपछि आवश्यकताले निर्धारण गरेको निर्वाचनले मुलुकलाई लोकतन्त्रको मर्यादाभित्र फर्काउन सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको संरक्षणका लागि निर्वाचन सफल हुनुपर्ने धारणा राख्नुभयो ।
“निर्वाचन माग गर्ने विद्रोही पक्षको सुनुवाइ गर्नु र संविधानलाई परिष्कृत बनाउने कार्यभार बोकेको सांसदको निर्वाचित गराउने कार्य पेचिलो हुनु सामान्य हुन्छ । तर जति पेचिलो भए पनि नेपालको निर्वाचन विश्वमा निष्ठाका रूपमा हेरिने गरिएकाले त्यसलाई कायम राख्न निर्वाचन आयोग सक्षम रहेको छ,” उहाँले भन्नुभयो । कार्यक्रममा पूर्वकानुन सचिव फणीन्द्र गौतमले निर्वाचन आचारसंहिताका प्रमुख विषयहरू : सरोकारवालाहरूको भूमिका विषयमा प्रस्तुति दिनुभएको थियो भने आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन खर्च र प्रचार–प्रसारको विषयमा बोल्नुभएको थियो ।